डोटीमा किन मनाइँदै छ आज कालो दिन ?



आज (बिहीबार) माघ ३ गते अर्थात डोटीका जनताले कालो दिनका रुपमा मनाउँदै छन् । तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी तोकेपछी डोटेली जनताले माग ३ लाई कालो दिन भन्दै आएका छन् ।

बिरोध स्वरुप बिहिबार अपरान्ह ४ बजे हातमा कालोपट्टी बाँधेर जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ डोटीले जनाएको छ ।

सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको दिपायललाई बेवास्ता गरी राजधानी कैलाली तोकिएको भन्दै डोटीमा ६४ दिनसम्म आन्दोलन भएको थियो ।

६ सय वर्ष डोटीको प्रशासनिक तथा राजनैतिक इतिहास समाप्त भएको दिन भएकाले डोटीका लागि माघ ३ गते कालो दिन भएको दिपायल राजधानी संघर्ष समितिले जनाएको छ । २०७४ साल माघ ३ गते तत्कालीन देउवा नेतृत्वको सरकारले कैलालीको धनगढीलाई अस्थायी राजधानी घोषणा गरेको थियो ।

निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाको सरकारले डोटी राजधानी बनाउला भन्ने आश गरेका जनतालाई देउवाको नेतृत्वको सरकारले जस्तै कैलालीको अत्तरियामा स्थायी राजधानी बनाउने निर्णय गरेर डोटीको विपक्षमा निर्णय गरेको थियो ।

देउवा नेतृत्वको सरकारको पालामा डोटीबाट निर्वा्चित सांसद वीरबहादुर बलायर, भौतिक पुर्वाधार तथा यातायात मन्त्री थिए भने नेकपा सरकारले निर्णय गर्दा डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्ट मूख्यमन्त्री थिए ।

डोटीबाट निर्वा्चित सांसद नै शक्तीमा भएको अवस्थामा डोटीका बिपक्षमा निर्णय गरेकाले जनताको मतको अपमान भएको डोटेली जनताको आरोप छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्