‘म एक लाखमा बेचिएँ’

वैदेशिक रोजगारीः यसरी बेचिन्छन् महिलाहरु

म कृति गोले । २०४५ साल साउन २७ गते सिन्धुपाल्चोकको बल्फी गाउँपालिका वडा नम्बर २ धुस्कोट मच्छे गाउँमा जन्मिएँ । बुबा चिन बहादुर र आमा कान्छीमाया तामाङबाट जन्मिएका एक दाजु र सात दिदीबहिनी मध्ये म पाचौं सन्तान ।

म सामान्य परिवारमा जन्मिएँ । खाल लाउन समस्या थिएन । बुबा आमाले खेती किसानी गर्नुहुन्थ्यो । गाउँकै श्री आनन्द माध्यामिक विद्यालय जलबिरेबाट मैले सात कक्षा पास गरेकी छु ।

स्कूले जीवन

म स्कूल पढिरहेका बेला देशमा सरकार–माओवादी द्वन्द्व थियो । सरकारले पटक–पटक संकटकाल घोषणा गर्दथ्यो । गाउँमा सेना प्रहरी भन्दा माओवादीको बाक्लै उपस्थिती हुन्थ्यो । बुबा र दाईलाई आफ्नो अभियानमा लाग्नुपर्छ भनेर माओवादी कार्यकर्ताहरू पटक पटक घरमा आउँथे । अभियानमा नलागे छोड्दैनौं भनेर धम्काउँथे । अभियानमा लाग्न दबाब दिन्थे । माओवादीको धम्की सहन मुस्किल हुन थालेपछि बुबा र दाजुले गाउँ छोडेर राजधानी बस्ने निर्णय गर्नुभो । उहाँहरू भागेर काठमाडौं आउनु भो । गाउँमा बस्ने अवस्था थिएन ।

राजधानी आउँदा बुबाले मभन्दा मुनिका दुई बहिनीलाई पनि काठमाडौं ल्याउनु भो । माओवादीले म लगायत अन्य स्कूले केटीहरूलाई तिमीहरू अभियानमा लाग भन्थे । बाटोमा हिँड्दा रोकेर कुरा गर्थे । स्कूलमै गएर तिमीहरू अभियानमा लाग, नत्र भने तिमीहरूका दाजुभाई र बुबालाई राम्रो हुन्न भन्दै धम्काउथे । म भन्दा मुनीको एउटा बैनीलाई जबरजस्ती अभियानमा लगे । उ भागेर घर आउँथी । फेरि लान्थे । अभियानबाट भागेर पटक–पटक काठमाडौंमा पुगी । यसरी काठमाडौं–गाउँ ओहोरदोहोर गर्दागर्दै काठमाडौंबाट सिन्धुपाल्चोक जाने क्रममा सिन्धुपाल्चोककै बलेफीमा गाडी दुर्घटनामा परेर ज्यान गुमाई । बहिनी गुमाउदाको पीडा अहिले पनि उस्तै छ ।

मलाई माओवादी अभियानमा जान मन लागेन । उनीहरूको डर, धम्की र त्रासले उनीहरूप्रति वितृष्णा जाग्थ्यो । घरका अभिभावकले पनि जाउ भनेनन् । घर, स्कूल, बाटोघाटोमासमेत माओवादी कार्यकर्ताले सताउन नछोडेपछि ज्यान जोगाउनै मुस्किल भो । अनि स्कूल छोड्ने निर्णय गरे ।

घरको आर्थिक अवस्था कमजोर त थिएन । पढाउनका लागि मलाई पनि काठमाडौं ल्याउन सक्ने अवस्था सायद भएन । जलबिरेमा भएको एउटा घर पनि २०६१ सालमा माओवादीले कब्जा गरे । आयस्रोत भन्ने हो भने त्यही खेतीपाती थियो । अनि मैले विदेश जाने निर्णय गरेँ । बुबालाई विदेश जान्छु, तपाईलाई पनि सजिलो हुन्छ भनेँ ।

काठमाडौं आएपछि साथीहरूसँगको भेटघाटमा विदेश जाने आइडिया आएको थियो । बुबाले त विदेश नजाउ । यतै दुःख सुख गरौंला भन्नुभको थियो । तर मैले नै जिद्दी गरेँ । मैले सात पास गरिसके । आँखा खुलिसके । अब बैनीहरूलाई पनि त पढाउनु पर्छ भनेँ । अनि बाध्यताले उहाँ राजी हुनुभो ।

२०६० सालमा पासपोर्ट बनाए । म २०४५ साल साउन २७ गते जन्मिएको । तर त्यतिबेला पासपोर्ट बनाउँन उमेर नपुग्ने भएपछि २०४१ साल साउन २७ गते जन्मिएको भनेर चार वर्ष उमेर बढाएँ । पासपोर्ट बनाएर कुवेत गएँ ।

उमेर बढाएर कुवेत

२०६० साल बैशाख २ गते एउटा काठमाडौंकै एजेन्टमार्फत चारजना केटी साथीहरूसँगै म कुवेत गएँ । भाग्य नै भन्नुपर्छ हामी सात जना नेपाली केटीहरू एउटै घरमा काम गर्न पुग्यौं । एउटी भारतीय केटी पनि त्यही घरमा काम गर्थिन् । त्यो ठूलो परिवार थियो । घर मालिकका दुई श्रीमती थिए । सबै एउटै घरमा अलग–अलग तलामा बस्थे । जेठी श्रीमती पट्टीकी कान्छी छोरीको घरमा चाहिँ मैले काम गर्थे । एजेन्टले जे कामका लागि भनेर लिएको थियो, त्यही काम गर्नुपर्यो । मलाई कुनै खालको समस्या भएन । म पाँच वर्ष त्यही घरमा बसेँ र २०६६ साल बैशाख ३ गते नेपाल फर्किएँ ।

कुवेत जाने मध्ये ८० प्रतिशत भन्दा बढीले दुःख पाउछन् भन्ने सुनेकी थिएँ । भाग्य जितेकाहरूलाई मात्रै समस्या हुँदैन भन्थे । मेरो पनि भाग्य नै राम्रो भन्नुपर्छ । मलाई कुनै खालको तनाव भएन । ईमान्दारीपूर्वक काम गरेँ र स्वदेश फर्किएँ ।

यसकारण दुःख पाउँछन् नेपाली चेलीहरू

यसमा सबैभन्दा ठूलो गल्ती नेपाली एजेन्टहरूको ह । जुन घरमा महिलाहरूलाई काम गर्न पठाउँदैछन्, त्यो घरको मालिक कस्तो छ ? उनीहरूको आचरण र पृष्ठभूमि के हो भन्ने नबुझेरै मिठा आश्वासन दिएर महिलाहरू विदेश पठाउँछन् । त्यहाँ पुगेर घर मालिकबाट कुनै खालको दुव्र्यवहार भो, बलात्कारै भो, खान लाउन दिएन, कुटपिट भो भने त्यही एजेन्टलाई फोन गर्दा पनि वास्ता गर्दैनन् । उनीहरूको घरमासमेत त्यो कुरा पुर्याइदिँदैनन् । तिमीहरूलाई बेचेको हो । मरे मर, बाँचे बाँच भन्दै छोडिदिन्छन् । एजेन्टको त्यही लापरवाही र गैर जिम्मेवारीका कारण नेपाली छोरीहरू कष्टकर जीवन बिताउन बाध्य छन् ।

एजेन्टले मलाई कुवेतमा तीन सय केडीमा बेचेको रहेछ । त्यो भनेको करिब एक लाख नेपाली रुपैयाँ हो । अहिले तिनैै एजेन्टहरूले एक महिला बराबर १५ सय केडी पाउँछन् रे । त्यो भनेको नेपाली ६ लाख रुपैयाँ हो । नेपाली महिलाहरू कम्तिमा ६ लाख नेपाली रुपैयाँमा बेचिएर कुवेत पुगिरहेका छन् । अनि त्यति रुपैयाँ खर्च गरेर लिएको महिलालाई कुवेतीले पशुसरह व्यवहार गर्न हिच्किचाउँदैनन् । तिमीलाई किनेर ल्याएको भन्छन् ।

कुवेतमा एउटै घरमा आठ वर्ष

नेपाल आएपछि म ३ महिना सिन्धुपाल्चोक घरमै बसेँ । म बसेको साहुनीले आउन मन छ भने आउ भनेर पटक–पटक फोन गरिन् । मलाई पनि फेरि फर्किन मन लाग्यो । नेपालमा घरमा खाली बस्नु भन्दा त उतै जानु ठिक लाग्यो ।

सुरुमा त ६ महिनासम्म मेरो तलव ३५ केडी (नेपाली सात हजार) थियो । त्यसपछि ४० केडी पुग्यो । ५ वर्ष बस्दासम्म मेरो तलब ७० केडी थियो । जुन नेपाली पच्चिस हजारसम्म हुन्थ्यो ।

उनीहरूले म्यासेन्जरमा कल गरेर भने, ‘दिदी आज दशैं । तपाईंहरूले मासुभात खानु भो होला । हाम्ले २ महिना भो खाना नपाएको’ भने ।

३ महिना नेपाल बसेर कुवेत फर्किदा ८० केडी तलव भयो । ११ महिना कुवेत बसेर फेरि नेपाल फर्किएँ । दुई वर्ष नेपाल बसेर फेरि त्यही घरमा गएँ । त्यो बेला जाँदा सय केडी अर्थात नेपाली ३५ हजारसम्म पुग्थ्यो । १९ महिना बसेर नेपाल आएँ र १६ महिना बसेँ । भूइँचालोपछि फेरि त्यही घरमा गएँ र २३ महिना बसेर २०७५ भदौ २ गते नेपाल आइपुगेँ ।

२०७३ साल साउन ३ गते । दशैंको दिन थियो । ६ जना नेपाली दिदीबहिनीहरू सँगै खाइरहेका थियौं । सिन्धुपाल्चोककै दुई जना बहिनीहरू पनि कुवेत पुगेका रहेछन् । हामी फेसबुकमा जोडिएका थियौं । उनीहरूले म्यासेन्जरमा कल गरेर भने, ‘दिदी आज दशैं । तपाईंहरूले मासुभात खानु भो होला । हाम्ले २ महिना भो खाना नपाएको’ भने । असाध्यै रोए । उनीहरूले पीडाले साहै्र खिन्न लाग्यो । उनीहरू को मार्फत त्यहाँ पुगे भनेर सोधेँ । एजेन्टको नाम दिए । एजेन्ट सिन्धुपाल्चोकको पाल्चोकका रामबहादुर दोङ र उनकै श्रीमती मिना लामा रहेछन् । मैले उनीहरूलाई फोन गरेँ । मिनाले त्यी बहिनीहरूलाई राम्रो छ । तिम्लाई के मतलब भनेर उल्टै गाली गरिन् । मैले यदी ३ दिनभित्र त्यी बहिनीहरूलाई त्यो घरबाट निकालेनौं भने मेरो साहुको पनि सहयोग लिन्छु र तिमीहरूको फोटो नेपालका सबै संचार माध्यम र सरकारी निकायलाई दिन्छु भनेर धम्काए । मेरो धम्की सुनेपछि उनीहरू डराएछन् । अहिले त्यसो नगर, हामी अर्को घरमा सार्दिन्छौं भने । ६ दिनभित्र अर्को घरमा बेचे ।

यो घटनाले मलाई निकै परिवर्तन गर्यो । केही गरेपछि हुँदोरहेछ भन्ने कुराको पाठ सिकायो । ती दुईजना नेपाली बहिनीहरूको सहजै उद्धार भएपछि कुवेतमा दुःख पाएका अरु महिलाहरू सम्पर्कमा आउन थाले । सिन्धुपाल्चोककै संगिता लोप्चनसहित चार जनाको समूह बनायौं । विदेशमा दुःख कष्ट झेलिरहेका महिलाहरूको लागि काम गर्ने अठोट गर्यौं । भाइबर, इमो र फेसबुक, ह्वाटस्एपमार्फत थुप्रै केसहरू आउन थाले । त्यसपछि त केसको लाइन नै लाग्न थाल्यो । करिब १ वर्षको अवधिमा ८९ जना नेपाली महिलाहरूको उद्धार गर्यौं । दलालहरूसँग झगडा गरेर ४० जनालाई २१ सय केडी त क्षतिपुर्ती दिलायौं ।

नेपाल फर्किसकेपछि कुवेतमा महिलाहरू पठाउने २४ जना एजेन्टविरुद्ध म र उद्धारकर्ताहरू नबिन खड्का, दावा ठोकरसहितले मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलमा मुद्दा दर्ता नै गरेका छौं । अहिलेसम्म कार्वाही कसैलाई पनि भएको छैन । तर पनि ब्यूरोले मान्छे बेच्ने दलालहरूलाई कार्वाही गर्छ र पीडित दिदीबहिनीहरूले न्याय पाउँछन् भन्ने आस गरेका छौं ।

२ वर्षमा ३ सयको उद्धार

यो अवधिमा हाम्रो समूहले एक जना पुरुषसहित ३ सय जना भन्दा बढीको उद्धार गरिसकेका छौं । ३ सय मध्ये सिरियाबाट १ जना, इराकबाट ३ जना मात्रै छन् । बाँकी सबै कुवेतबाट उद्धार गरेका हौं ।

सम्झिदा पनि दुःख लाग्छ । हाम्ले यति धेरै महिलाहरूको उद्धार गर्दा एक जना मानव दलाल पनि कानूनी कार्वाहीमा परेनन् । श्रम मन्त्रालयमा जानकारी हुँदा समेत दलालहरू कानूनी कठघरामा आउँदैनन् । स्वयं पीडित नै श्रम मन्त्रालय र अपराध अनुसन्धान महाशाखा टेकु पुगेर तलव दिएन, म यसरी कुटपिट र दुव्र्यवहारमा परेँ भन्दा पनि प्रमाण ल्याउनुस् भनेर अनदेखी गरिन्छ ।

क ख लेख्न नसक्ने दिदीबहिनीहरूले के को लिखित प्रमाण ल्याउनु ? म्यासेजमा कुरा भको होला नि भन्छन् । लेख्न नजान्नेहरूले के को म्यासेज लेख्नु ? हाम्रो श्रम मन्त्रालय र प्रहरीको अनुसन्धान प्रकृया नै अगतिलो र विवेक नै नभएको जस्तो भान हुन्छ यस्ता कुराहरू सुन्दा त ।

थाइल्याण्ड काण्ड

२०७५ फागुन २९ गतेको घटना सम्झाउन चाहान्छु । मलाई पीडितको फोन आयो । माईला लामा, शान्ति लामा, खान्डु शेर्पा भन्ने दलालले थाइल्याण्ड लैजान्छु भनेर जिल्ला जिल्लामा पुगेर वृद्धवृद्धाहरूबाट पैसा र पासपोर्ट संकलन गरेका रहेछन् ।

बौद्ध धर्मावलम्बी त्यी वृद्धवृद्धाहरूलाई थाइल्याण्डमा हुने पूजा समारोहका लागि लैजाने भनिएको रहेछ । २ सय ६० जना पीडित हुनुहुन्थ्यो उहाँहरू । थाइल्याण्ड मात्रै गएर फर्किन्छु भन्नेसँगबाट २५ देखि ३० हजार उठाइएको छ । ३६ देश घुम्नको लागि पर व्यक्ति दुईदेखि चार लाखसम्म उठाइएको छ । यसरी उठाइएको रकम करिब ८० लाख हुन आउँछ ।

पीडितसँग पैंसा उठाएको प्रमाण छ । उनीहरूबाट १ सय ९ जनाको पासपोर्ट त हामीले नै बरामद गरेका छौं । म पनि थाइल्याण्ड जान्छु भनेर नारायण थानमा पीडितलाई राखिएको होटलमा पुगेकी थिएँ । सीता ठकुरी भन्ने होटलको चिया पकाउने महिला कर्मचारीको घरमा सबैको पासपोर्ट राखिएको रैछ । उसको श्रीमान असाध्यै इमान्दार रहेछन् । खाण्डु शेर्पाले पासपोर्ट हामीसँग छैन भन्यो । सीतालाई सोध्दा उसको श्रीमानले सही कुरा बालिहाले । तीन झोला पासपोर्ट ल्याएर अगाडि राखिदिए । त्यतिधेरै पासपोर्ट देखेपछि मलाई त डर लाग्यो । अनि नारायणथानकै प्रहरी बोलाएँ र त्यो पासपोर्ट बरामद गरियो । जसमा १ सय ९ जनाको पासपोर्ट थियो ।

यो ठगी मुद्दाका मुख्य दलाल मध्ये माईला लामा अहिलेसम्म पक्राउ परेका छैनन् । खाण्डु शेर्पा र शान्ति लामालाई चक्रपथ प्रहरी चौकीमा २४ दिन राख्यो र हामी लगायत पीडित कसैलाई थाहा नै नदिई बैशाख २ गते १०–१० लाख धरौटीमा छोडिएको रहेछ ।

पीडितहरू पीडितका पीडित छन् । ३ जनाको मात्रै पासपोर्ट फिर्ता दिइएको छ । बाँकी १ सय ६ जनाले पासपोर्ट पाएका छैनन् । उनीहरू न्याय कहिले पाइन्छ भन्दै कुरिरहेका छन् । यसमा हाम्रो समूहले पनि पीडित भन्दा धेरै पीडा पाइसक्यो । ८० लाख भन्दा धेरै रकम संकलन गर्नेलाई १० लाख मात्रै धरौटीमा छाडिनुको पछाडिको रहस्य के हो भनेर खोजिरहेका छौं । तर राज्यबाट चित्तबुझ्दो काम पाइरहेका छैनौं ।

स्वदेशमै रोजगारी दिइयोस्

हुन त वैदेशिक रोजगारीमा पठाउने सबै मेनपावर कम्पनी र एजेन्टहरू गलत छैनन् । धेरैले इमान्दारीपूर्वक काम पनि गरेका छन् । तर म त भन्छु सबै बेरोजगार दिदीबहिनीहरूलाई नेपाल सरकारले स्वदेशमै रोजगारी सृजना गरिदेओस् । पेट पाल्न र परिवारको खुसीका लागि कसैले देश छोडेर अर्काको भूमिमा ज्यान जोखिममा राख्न नपरोस् । म सबै दिदीबहिनीहरूलाई भन्छु, ‘सानो सानो भए पनि स्वदेशमै रोजगारी गर्नुस् । व्यवसाय गर्नुस् । दुःख कष्ट पर्दा दिल खोलेर रुन त पाइन्छ ।’

अब विदेश जान्न

१६ वर्ष नपुग्दै विदेश गएर करिब ८ वर्ष बस्दा कमाएको पैसाले अहिले मेरो रोजीरोटी चलिरहेको छ । म अब विदेश जान्न । पैसा कमाउने लोभले विदेशी भूमिका बेचिएका नेपाली दिदीबहिनीहरूको स–सम्मान उद्धार गर्न पाउँदा नै जीवनमा केही गरेको जस्तो अनुभूति गरिरहेकी छु ।

यदी राज्यले तलव दिएर राखेका कर्मचारीहरूले मान्छे बेच्ने दलाललाई कार्वाही गर्न सक्दैन भने हामीहरूलाई जिम्मा देओस् । हामी निशुल्क काम गर्न चाहान्छौं । एक रुपैयाँ पनि राज्यको चाहिन्न । तर दलालसँग मिलेर कानूनी कार्वाही नगर्ने कर्मचारीलाई पनि राज्यले अनुसन्धान गरेर कार्वाही गर्नुपर्छ ।

म आफ्नो कामप्रति खुसी छु । तर दुःख त्यतिबेला लाग्छ जतिबेला प्रमाणसहित दोषी देखिएका मानव दलालहरूलाई समेत राज्यले कार्वाही गर्दैन । विभिन्न बहानामा उन्मुक्ति दिन्छ । त्यसले हामीजस्ता मान्छेहरूलाई निरास बनाइदिन्छ । यदी राज्यले नेपाललाई मानव बेचबिखनरहित देश बनाउन चाहन्छ र कोही पनि मान्छे पशुसरह बेचिन नपरोस् भन्ने चाहान्छ भने हामी जस्तो मान्छेको सहारा लेओस् । यदी राज्यले तलव दिएर राखेका कर्मचारीहरूले मान्छे बेच्ने दलाललाई कार्वाही गर्न सक्दैन भने हामीहरूलाई जिम्मा देओस् । हामी निशुल्क काम गर्न चाहान्छौं । एक रुपैयाँ पनि राज्यको चाहिन्न । तर दलालसँग मिलेर कानूनी कार्वाही नगर्ने कर्मचारीलाई पनि राज्यले अनुसन्धान गरेर कार्वाही गर्नुपर्छ । ताकी त्यस्तो दुश्साहस अरु कसैले नगरोस् ।

अभियान जारी हुन्छ

जबसम्म वैदेशिक रोजगारी अन्तरगत घरेलु कामदारका रुपमा गएका महिलाहरूले मालिकबाट पशुतुल्य व्यवहार सहनुपर्ने समस्याको समाधान हुन्न । आफै नेपाली भएर पैंसाको लालचमा अर्को एउटा नेपालीलाई मृत्युको मुखमा धकेल्ने मानव दलालहरू जगजगी रहिरहन्छ, तबसम्म म उद्धार र पुनस्र्थापनाको कामबाट पछि हट्दिन । मानव बेचबिखनरहित समाज निर्माणका लागि मन, वचन र कर्मले काम गरिहरनेछु । डर, धम्की र त्रास देखाएर मेरो अघि उभिनेलाई कानूनी कार्वाही गर्न लागि लागिरहनेछु ।

(सैघाली खबरसँगको कुराकानीमा आधारित ।)

Video Link: https://www.facebook.com/saighalikhabar/videos/665196267253429/