नीति तथा कार्यक्रम बारे सांसद आशा विकले भनिन्, ‘केही बुँदा छुटेका छन्’

सभामुख महोदय,

नीति तथा कार्यक्रम २ सय १८ बुँदामा लेखिएको छ । त्यो २ सय १८ वटा बुँदामा लेखिएको नीति तथा कार्यक्रम संवृद्ध नेपाल र सुखी नेपाली बनाउन सार्थक छ जस्तो मलाई लाग्छ ।

सभामुख महोदय, अति राम्रो नीति कार्यक्रम दुवै सदनमा प्रस्तुत हुँदाहुँदै पनि कहिँकतै केही बुँदाहरूमा संसोधन भन्दा पनि केही बुँदाहरू छुटेको जस्तो लाग्छ । बुँदा २७ अलि अस्पष्ट रुपमा लेखिएको छ । जनता आवास कार्यक्रमलाई संविधानको धारा ४० को उपधारा ५ अनुसार स्पष्ट लेखिनु पर्छ ।

संविधानको धारा ४० को उपधारा ४ मा पनि दलितहरूको सीप, ज्ञान र उद्योगलाई स्पष्ट रुपमा लेखिएको छ । यसलाई समेटेर कार्यक्रममा लैजानु पर्छ ।

अहिले कृषिलाई प्रवद्र्धन गर्ने भन्ने सरकारको नीति छ । तर दलितहरूको कृषिमा पहुँच छैन । जग्गा जमिन छैन । उनीहरुसँग भएको अथाह सीप, क्षमता र ज्ञानलाई उद्योग र प्रविधिमा परिणत गरेर राष्ट्रिय अन्तराष्ट्रिय रुपमा बजारीकरण गरी उहाँहरूको सीप ज्ञानलाई प्रवद्र्धन गर्न यसमा समेटिनु पर्छ ।

धारा १ सय ४३ मा सांसदको आवास भन्ने कुरा छुटेको छ । मन्त्री र प्रदेश प्रमुखहरूलाई राख्ने भवन बनाउने भनिएको छ । तर विभिन्न जिल्लाहरूबाट आएका सांसदहरूलाई काठमाडौंमा अति अप्ठेरो परेको अवस्था देख्दा यसमा सांसदहरूको लागि पनि आवास निर्माण भन्ने कुरा छुटेको छ ।

बुँदा नं १ सय ५४ मा पर्यटनको कुरा गर्दा विभिन्न क्षेत्रमा पर्यटनलाई समेटिएको छ । तर म बझाङको सांसद भएको हिसाबले बझाङमा दुई दुई ओटा दरवार छन्– हात्तीछाप दरवार र भोपुर दरवार । ती दरवारलाई संरक्षणसहित एउटा संग्राहलयको व्यवस्था गरिनु पर्छ । यी कुराहरू पर्यटनमा छुटेको छ ।

त्यसैगरी १ सय ९२ नम्बरको बुँदामा प्रत्येक जिल्लामा अनाथ आश्रमको व्यवस्था गर्ने भनिएको छ । मेरो विचारमा ७७ वटै जिल्लामा अनाथ आश्रमको व्यवस्था गरिनु पर्छ । किनकी सरकार देशैभरीका टुहुरा बालबालिकाहरूको अविभावक बन्न जरुरी छ । त्यसैले प्रत्येक जिल्लाहरूमा अनाथ आश्रमको व्यवस्था हुनुपर्छ ।

१ सय ८० नं बुँदामा महिला पुनस्र्थापना केन्द्र बनाउने भनिएको छ, तर स्पष्ट रुपमा पहिला कहाँ र कसरी गर्ने भन्ने कुरा छैन । त्यसैले ७७ वटै जिल्लाहरूमा महिला पुनस्र्थापना केन्द्रको आवश्यकता छ । तर सुरुमा हिमाल र पहाडी र दुर्गम जिल्लाबाट शुरु गर्नुपर्छ ।

बुँदा नम्बर १ सय ७१ को कुराले म एकदमै खुसी छु, हर्षित छु । सामुदायिक विद्यालयमा छात्राहरूलाई निशुल्क प्याड वितरण गर्ने भन्ने कुरा कसैको लागि सानो कुरा होला । तर म यसलाई धेरै ठूलो मान्छु । यसले छोरीहरूले स्कूल छोड्नुपर्ने समस्याको समाधान हुन्छ । छाउ भएको बेला छोरीहरु स्कूल नजाने समस्याको समाधान हुन्छ । त्यसैले यो कुरा नीति तथा कार्यक्रममा आएकोमा म खुसी छु ।

विकासको नाममा अहिले गाउँ गाउँमा, पहाडको डाँडा डाँडामा अवैज्ञानिक तरिकाले डोजर आतंक फैलिएको छ । यो विषय नीति तथा कार्यक्रममा आउनु पर्ने कुराहरूलाई देखेकी छु मैले ।

४५ नं बुँदामा लेखिएको आम नागरिकको देशप्रति सम्मान, सद्भाव तथा अपनत्व सृजना हुनेगरी समतामूलक प्रदेश विकास रणनीति अवलम्बन गरिनेछ भन्ने कुरा यो नीति तथा कार्यक्रममा आएको छ । यसमा म तत्काल बजेट विनियोजन गर्दाखेरी पनि यसरी नै आउछ भन्नेमा आश्वस्त छु । यही सरकारले नै यो प्रतिवद्धता पुरा गर्नेछ ।

विकासको कुरा गर्दै जाँदाखेरी अलिकति यो नीति तथा कार्यक्रममा एउटा कुरा अलि छुटेको जस्तो लाग्छ । विकासको नाममा अहिले गाउँ गाउँमा, पहाडको डाँडा डाँडामा अवैज्ञानिक तरिकाले डोजर आतंक फैलिएको छ । यो विषय नीति तथा कार्यक्रममा आउनु पर्ने कुराहरूलाई देखेकी छु मैले ।

सभामुख महोदय, सरकारले केही गरेन भनेर केही माननीय ज्यूहरूले भन्नु भएको छ । उहाँहरूलाई म भन्छु ढुक्क हुनुहोस्, तपाईहरू सपनामा हुनुहुन्छ, निदाउनु भएको छ । हिजो भन्दा आजको परिवर्तनलाई देख्ने बानी बसाल्नु होस् भन्न चाहान्छु । त्यसैले हामी सानो कुरामा अल्झेर ठूलो कुरालाई नर्बिसिउ भन्न चाहान्छु ।