प्रिय कामरेड

  • लक्षीराम आचार्य

 

 

 

 

 

म भर्खरै पाठशालाको बिद्यार्थी थिए
तिमी राजनीतिको दिक्षित थियौ
तिमीले जे जे सिकायौ त्यही सिकें
तिमीले जे देखायौ, त्यही त्यही देखें
अपसोच !
तिमीले म सधैं शिशु कक्षा
अनुत्तीर्ण भएकै देख्न चाहान्थ्यौ होला !

जब तिमीले सिकाएका लिपिहरु
मैले राम्ररी बुझ्न थालें
अक्षरहरुको गठजोडबाट बनेका शब्दहरू
शब्दहरुको संयोजनबाट
निर्मित वाक्यहरु बुझ्न थालें
बेलाबखत तिमीले
आफ्नो औकात डकार्दै गरेको
आभाष त मैले धेरै पटक पाएकै हो।

तर पनि तिमीले
व्यबहार जस्तो गरे पनि
बिधालय हुँदै विश्व विद्यालयसम्म
सिकाएका शब्द र वाक्यहरुलाई
शिरोधार्य गर्दै
तिमीले पढेका ठेलीहरुमा
आफूलाई तल्लिन गर्दै गए
आंखिर मलाई भ्रमित तुल्याएर
तिमी आफ्नो दुनो सोझ्याउन चाहन्थ्यो।

किन्तु त्यो मेरो विद्यालय र विश्व विद्यालयको
कुनै अध्यायमै भेट्न सकिन
र त म तिम्रा प्रियतम जस्तो
मानब तस्करीको धन्दा, दलाली, चाप्लुसी
वा नैतिकताविहीन भएर
खुराफात गर्न तयार हुन सकेन।

बरु तिमीलाई कमरे सोचेर नै
मार्क्सवादका गहन
बिचार र नबिनतम आयामहरुमा
बहस गर्न उत्सुक भए
आफ्नो झुट र लुट्लाई
बिर्को लगाएर लुकाउनेहरुका
विरुद्ध निरन्तर लडिरहेकै छु।

प्रिय कामरेड,
मैले बर्ग संघर्षका लागि पटक-पटक
मृत्युको बाटो हिड्न राजी भएको हु
मेरा सबै चाहानाहरुलाई
तिलान्जली दिंदै, यौवन र जीवनलाई
क्रान्तिको यात्रामा हालिसकेको छु
मेरा शरीरका सबै कोषिकाहरु
ईन्कलाबले रंजित सिंन्चित भएका छन् ।

प्रिय कामरेड,
मलाई धर्तिमा जन्माउनेहरु
वा मैले जन्माएकाहरुका चाहाना
कहिल्यै पूरा गर्ने सोचिन
सोचें त केवल पुर्खाहरुको गर्बिलो इतिहास
अनि सहिद र योद्धाहरुको बलिदानी
तर कामरेड आज म दुःखी छु
किन कि मैले तिम्रो दासता स्विकार्न सकिन
बरु रोजें फराकिलो मैदानकै बाटो
जहाँ म जस्ता हजारौंको बलिदानी खर्चिएको छ।

हो कामरेड ,
मेरो देशको सिमानामा
बैरीहरुको हस्तक्षेप निर्लज्ज बढेको छ
मेरी आमाको संम्बेदनशिल अंगमा
दुस्टको प्रत्यक्ष बज्र प्रहार भएको छ
मेरो अंश र बंश नाश गर्न
मेरो मुटु अनि स्वाभिमान
मेरो देशको नागरिकता लिलाम गरिदै छ।

हुन त तिमीलाई हाई काटेर सुत्न मन छ
मलाई मेरो मुटुको ढुकढुकी बचाउनु छ
तिम्रो बाटो मात्रै सिंहदरबार तिर सोझिएको छ
मेरो बाटो रत्नपार्क तिरै मोडिएको छ
तिम्रा सपना जालझेल, बेइमानी र लुटको
रंगिन आलिशानतिर कल्पिएको छ
तिमी आज सेतोलाई रातो देख्न थालेका छौ
म सेतोलाई सेतै मात्रै देख्ने छु।

भो कामरेड,
तिम्रो गन्तब्यका कुत्सित चाहाना
पूरा त होलान्
तर स्विकार्य छैन तिम्रो कांतर आडम्बर
मलाई प्यारो छ
जुन बाटो म हिडिरहेको छु
जहाँ तिमी हिड्न थाकिसकेका छौ
मैले बरु फराकिलो बनाउनु छ त्यही बाटो
जहाँ हजारौं योद्दाहरु परेट गर्दै
मार्च पास गर्न सकुन् ।

आवश्यकता पर्दा न्यायको युद्धका गोलीहरु
सजिलै कक गर्न सकियोस्
बैरी र मित्रको सजिलै
पहिचान गर्दै अगाडि बढ्न छेदक नलागोस
जनबादी केन्द्रिएताको
आलोकमा भाव र अर्थ
यथार्थ व्यबहारमा लागू गर्न पाइयोस
स्वीकार गर्न नपरोस, गुलामी दासता।

बरु रोज्न परोस्
आमाको अस्मिताका खांतिर
सबै सबै चाहाना गुमाउन पाइयोस
तर तिम्रो जस्तो छदम क्रान्तिकारी भएर
जीवन जिउन नपरोस्
शुभकामना
प्रिय कामरेड तिमीलाई !