पढ्न नपाएको भए बेचिने पक्का थियो



म जस्मिना लामा । मेरो घर सिन्धुपाल्चोकको हेलम्बु हो । म अहिले बी ए तेस्रो वर्षमा पढिरहेकी छु ।

हामी चार जना दिदीबहिनी । दाजुभाई छैन । मेरो बुबा हुनुहुन्न । म १९ वर्ष पुगेँ । बुबा बित्नुभएको १८ वर्ष भो । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक । साँझ खाए, बिहानको चिन्ता । श्रीमान नभएको घर, त्यसमाथि छोरा नहुँदा आमाले गाउँलेबाट खेपेको हेलोहोचो कति छ, भनिसाध्य छैन । त्यसको सिकार हामी चार दिदीबहिनी पनि भयौं ।

आमा एक्लैले चार दिदीबहिनीलाई पढाउने अवस्था थिएन । जेठो दिदीले सात कक्षासम्म मात्रै पढ्नु भो । घरमा खान लाउनै समस्या भएपछि अरुको सल्लाहमा उमेर बढाएर नागरिकता र पासपोर्ट बनाई विदेश जानुभो । दिदी विदेश गएपछि उहाँले पठाएको पैसाले आमालाई घर चलाउन अलि सहज भो । पेटभरी खान र शरीरमा अलि ठिक्कको लुगा लाउन पायौं ।

माईली दिदीले पनि जेठो दिदीको सिको गर्दै उमेर बढाउनु भो । पासपोर्ट बनाउनु भो र विदेश जानुभो । साईली दिदी पनि विदेश जाने सिलसिलामा हुनुहुन्थ्यो । तर जानु भएन । उहाँले १२ कक्षा पास गर्नु भो । उहाँपछि अब उमेर बढाउने र विदेश जाने पालो मेरो थियो । तर भाग्य नै भन्नुपर्छ, म जोगिएँ । १२ कक्षा गाउँकै स्कुलबाट पास गरे ।

मैले १२ कक्षाको परीक्षा दिनुअघि भूकम्प गयो। गाउँमा सन्नाटा छाएको थियो । घर ढलेका थिए । पढाईमा ध्यान दिने अवस्था थिएन । किताब, कापी लगायत शैक्षिक सामग्री कता पुरिए, थाहा थिएन । निरन्तरको पराकम्पनले पढाई भन्दा ज्यान जोगाउने चिन्ता थियो । त्यसैले परीक्षाको परीणाम मैले सोचेजस्तो भएन । मेरो मुख्य विषय अंग्रेजी थियो । त्यै पनि कलेज टप भएँ ।

११ र १२ कक्षा पढ्दा कलेजको भर्ना फि र परीक्षा फि तिर्न बाँकी थियो । जस बाफतको ७ हजार ५ सय रुपैयाँ तिर्न नसक्दा परीक्षाफल निस्केको लामो समयसम्म पनि सर्टिफिकेट पाउन सकेकी थिइन । सँगैका साथीहरू स्नातकमा भर्ना हुन थालिसकेका थिए । तर मेरो परिवारसँग त्यती पैसा नहुँदा सर्टिफिकेट निकाल्न सकिएको थिएन ।

मेरो समस्या बारे अभियन्ता ईन्दिरा घलेले थाहा पाउनु भएछ । मानव बेचबिखन रोक्न मेरो गाउँमा किशोरीहरूको शिक्षाका लागि लागिपरेकी ईन्दिरा दिदीले मेरो सर्टिफिकेट निकालिदिनु भो । र स्नातक तहसम्मको पढाईलेखाई खर्च व्यहोरिदिने प्रतिवद्धता व्यक्त गर्नुभो । गाउँमै स्नातक पढ्न सम्भव नभएपछि उहाँले नै काठमाडौं ल्याउनुभो र क्याम्पस भर्ना गरिदिनुभो ।

मेरो हिजोको जीवन सम्झिदा सपना जस्तो लाग्छ । उमेर बढाएर विदेश गएका दुई दिदीहरू फर्केर गाउँ आएपछि बिहे भो । सन्तान जन्माउनु भो । अहिले छोराछोरी हुर्काउँदै गाउँमै दुःख सुख गरिराख्नु भएको छ । मेरा दिदीहरू र मेरो आमाले भोगेको जीवनमा खासै फरक छैन । यदि मलाई पनि स्नातक पढ्ने अवसर नमिलेको भए र पढ्नका लागि काठमाडौं नल्याइएको भए मेरो अवस्था पनि कहाँ फरक हुन्थ्यो र ? एसएलसी पास नगर्दै उमेर बढाएर विदेश जान्थे । एक दुई वर्ष बस्थेँ । गाउँमै फर्केर बिहे गर्थें र एक दुईटा छोराछोरी जन्माई घरमै थन्किन्थे ।

ईन्दिरा दिदी मेरो जीवनमा भगवान भएर आइदिनुभो । भगवान हुन्छ भन्छन्, देखेको त छैन । मेरो लागि भने साक्षात भगवान उहाँ नै हो । उहाँले मलाई बाटो देखाउनुभो । पढ्ने हौसला दिनुभो । अवसर दिनुभो । सपना देख्न सिकाउनुभो । र जीवनमा केही गर्नुपर्छ भन्ने प्रेरणा दिनुभो ।

शिक्षाको अभाव, गरिबी र अज्ञानताका कारण मानव दलालहरूको दलदलमा फस्न बाध्य मेरा दिदीबहिनीहरूलाई बेचिनबाट रोक्ने अभियानमा लाग्नेछु । मैले देखेको सपनाको बाटोबाट मेरो लक्ष्यमा पुग्न सहज त नहोला, तर म अवश्य पुग्नेछु ।

मेरो गाउँ चेलिबेटी बेचबिखनका लागि बद्नाम गाउँ । रहरले त के भन्नु, कहरले बेचिनेको संख्या ठूलो छ । कलिलो उमेरमै परिपक्वताका कागज बनाएर विदेशीनु फेसन जस्तै छ । त्यसरी विदेशीनेहरूको जीवन सहज हुने त कुरै भएन, तर पनि त्यो ‘युज टु’ जस्तै हो । सबैलाई यस्तै त हो नि भनेर विदेशमा दुःख पाउने, फर्केर चाँडै बिहे गर्ने र छोराछोरी हुर्काउन घरमै थन्किनेहरूले नियती सम्झिएका छन् । कसैले भाग्यलाई दोष दिएर पुर्पुरोमा हात लगाएका छन् । खुसी र सुखी त बिरलै होलान् ।

शिक्षाको अभाव, गरिबी र अज्ञानताका कारण मानव दलालहरूको दलदलमा फस्न बाध्य मेरा दिदीबहिनीहरूलाई बेचिनबाट रोक्ने अभियानमा लाग्नेछु । मैले देखेको सपनाको बाटोबाट मेरो लक्ष्यमा पुग्न सहज त नहोला, तर म अवश्य पुग्नेछु ।

ईन्दिरा दिदीको संस्था चेन्ज एक्सन नेपालले स्नातकसम्म पढाएपछि स्नाकोत्तर आफै गर्छु । काम गरेर पढाई पुरा गर्छु । उहाँहरूले पढाईको महत्व बुझाईदिनुभएको छ । उद्देश्य मैले लिइसकेकी छु । पुरा गर्ने दायित्व मेरै हो ।

म सानै उमेरमा गाउँमै गठन गरिएको मानव बेचबिखन विरुद्धको किशोरी समूहमा आवद्ध थिएँ । त्यहाँ मैले कोषाध्यक्षको रुपमा काम गरेकी छु । त्यसबाट पनि धेरै अनुभव बटुल्ने अवसर मिलेको छ ।

महंगा सपना देखाएर मान्छेले मान्छेलाई पशुसरह बेच्ने मेरो गाउँको विकासका लागि केही नमुना काम गर्ने इच्छा छ । छोरी मान्छे पढ्ने हो भने उनीहरूलाई मिठो आश्वासन दिएर बेच्ने गिरोह सफल हुँदैनन् । शिक्षाको अभाव, गरिबी र अज्ञानताका कारण मानव दलालहरूको दलदलमा फस्न बाध्य मेरा दिदीबहिनीहरूलाई बेचिनबाट रोक्ने अभियानमा लाग्नेछु । मैले देखेको सपनाको बाटोबाट मेरो लक्ष्यमा पुग्न सहज त नहोला, तर म अवश्य पुग्नेछु ।

(पत्रकार लोग्शरी कुँवरसँगको कुराकानीमा आधारित ।)

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्