प्रतिबन्धित भारतीय नोटसहित ६ पक्राउ

काठमाडौं । एक हजार र पाँच सय दरका गरी १५ लाख ९० हजार ५ सय प्रतिबन्धित भारतीय नोटसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौंको नयाँबजारस्थित होटल मेट्रो ईनबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का २१ वर्षीय शम्भु परियार, दोलखा तामाकोशी गाउँपालिका–३ का २३ वर्षीय राम बिक्रम खड्का, कास्की पोखरा महानगरपालिका–५ का ४० वर्षीय सन्तोष थापा, बाग्लुङ बडिगाड गाउँपालिका–५ का ३२ वर्षीय नबिन थापा छन् । यस्तै काभ्रेपलान्चोक तेमाल गाउँपालिका–६ का ३६ वर्षीय राजेन्द्र तामाङ र काठमाडौं नयाँबजार बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका–६ का ३७ वर्षीय धनध्वज तामाङ पनि पक्राउ परेका छन् ।

नेपाल तथा भारतमा समेत कारोबार गर्न प्रतिबन्ध लगाइएको भारतीय एक हजार र पाँच सय दरको नोटहरु साथमा बोकी सर्वसाधारणलाई प्रलोभन देखाई ठगी गर्न लागिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।