सुदूरपश्चिमलाई एक वर्षमै बेसहारारहित बनाइने

-सैघाली खबर-

कैलाली । मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश शाखाको औपचारिक उद्घाटन आज एक समारोहबीच गरिएको छ ।

मानवसेवा आश्रमको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकार घरबारविहीन, बेसहारा तथा असहाय नागरिकहरूको जीवन रक्षाको लागि अभिभावकत्व लिन तयार रहेको बताए ।

उनले प्रदेशभर रहेका सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा मानवसेवा आश्रम र आश्रमजस्तै प्रकृतिका अन्य संघ संस्थाहरूसँग समेत सहकार्य गरिने बताए ।

२०८२ सालभित्र नेपाललाई नै घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानवहरूरहित नेपाल निर्माण गर्न आश्रम प्रतिवद्ध रहेको संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए ।

यदि सबैको साथ र सहयोग रहेमा आगामी एक वर्षभित्र नै सुदुर पश्चिमलाई बेसहारारहित प्रदेश घोषणा गर्न सकिने उनले बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले मानवसेवा आश्रमले समान उद्देश्य भएका संस्थाहरूसँगको एकता र सहकार्य गरेको खण्डमा स्थानीय तहलाई योजना बनाउन सहज हुने बताए ।

मानवसेवा आश्रमकै प्रेरणाको कारण आफू निर्वाचित भएलगतै धनगढीलाई मानवीयताको शहर बनाउने निर्णय उपमहानगरपालिकाले गरेको बताउँदै उनले आश्रमको सदुरपश्चिम प्रदेश शाखा बिस्तार हुनुले मानवताको क्षेत्रमा थप योगदान पुगेको बताए ।

१८ सय बढी घरबारविहीन, बेसहारा तथा परित्यक्त नागरिकहरूलाई सेवा गरिसकेको आश्रमले हाल ६ प्रदेशका १२ जिल्लामा १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको आश्रमकी सुदुरपश्चिम प्रदेश संयोजक सृजना ओलीले जानकारी दिइन् ।

धनगढीस्थित तारानगरमा रहेको मानवसेवा आश्रमले ५ महिना अघि अनौपचारिकरुपमा सुदुरपश्चिम प्रदेश शाखा सञ्चालनमा ल्याएको थियो । हाल उक्त शाखामा १८ जना बेसहारा मानवहरूले संरक्षण पाइरहेका छन् भने साउन अघिनै १ नं. प्रदेशमा पनि शाखा विस्तार गरिने १ नं. प्रदेश संयोजक नवराज केसीले बताए ।