कुकुरको सहायतामा चरेससहित दुई पक्राउ बरामद

काठमाडौं । तालिम प्राप्त कुकुरको सहायतामा प्रहरीले लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युराले कुकुरको सहयोगमा ३ सय ८४.५ ग्राम लागूऔषध चरेशसहित काठमाडौंको पिपलबोटका राजु श्रेष्ठ र मकवानपुरको थाहा नगरपालिकाका रेवा पुरी लाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार श्रेष्ठलाई विमानस्थलको आन्तरिक उडान तर्फको पार्किङ स्थलबाट पक्राउ गरिएको हो भने पुरीलाई तिलगंगाबाट पक्राउ गरिएको हो ।

श्रेष्ठबाट ४।५ ग्राम र पुरीबाट ३ सय ८० ग्राम चरेश बरामद भएको थियो । श्रेष्ठबाट प्राप्त सूचना पछ्याउँदै जाँदा पुरी पक्राउ परेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।