नेपाललाई ओडिएफ राष्ट्र घोषणा गर्ने तयारी



काठमाडौं । खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नेपाल खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको र त्यसपछि पूर्ण सरसफाइको प्रस्थान बिन्दुमा प्रवेश गर्ने बताएका छन् । ‘सरसफाइ अभियानमा सञ्चार माध्यम’ बिषयक अन्तरक्रिया कार्यक्रममा सचिव शर्माले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सबैले अन्तिम धक्का दिनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सचिव शर्माले भने ‘देशकै राजधानी काठमाडौलाई पनि खुला दिसामुक्त घोषणा गर्न बाँकी छ, अरु जिल्ला खुल्ला दिसा मुक्त हुँदा पनि काठमाडौ हुन सकेन भने यो राष्ट्रकै लागि लज्जाको बिषय बन्छ, त्यसैले हामी सबै यो अभियानमा एकजुट भएर लागौं ।’

उनले खुला दिसामुक्त घोषणा भनेको दिसा छोप्ने काम मात्र भएकाले ढल व्यवस्थापन, चर्पीको प्रयोग, सुरक्षित खानेपानीको मात्र प्रयोग, खानेपानीको सुरक्षित भण्डारण, सुरक्षित खानेकुरा, व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता तथा वातावरणीय सरसफाइका कुराहरु पूर्ण सरसफाइ अभियानले समेट्ने बताए ।

चालू आर्थिक बर्षमा खुल्ला दिसा मुक्त (खुल्ला दिसा मुक्त) राष्ट्र घोषणा गर्ने र आउने आर्थिक बर्षदेखि पूर्ण सरसफाई अभियान सुरु गर्ने लक्ष्य लिएको सचिव शर्माले बताए ।

वास मिडिया फोरम नेपाल र खानेपानी सरसफाई उपभोक्ता महासंघले संयुक्त आयोजना गरेको कार्यक्रममा पूर्ण सरसफाईलाई आगामी बर्षदेखि प्रमुख मुद्दाका रुपमा उठाउदै लाने सचिव शर्माले उदघोष गरेका हुन् । खुल्ला दिसा मुक्त घोषणामा बिस्तारै सफलता हासिल हुदै गएपनि अबको चुनौति भनेको पूर्ण सरसफाइलाई लागु गर्न गराउन रहेको उनको भनाई थियो । यसका लागि राजनितिक प्रतिबद्धता, सरकारी पहल र सञ्चारमाध्यमको संयुक्त पहल आबश्यक रहेको सचिव शर्माको भनाइ छ ।

यो आर्थिक बर्षमा नेपाललाई खुल्ला दिसा मुक्त राष्ट्र घोषणा गर्ने खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ ।

नेपालमा २०६८ यता शौचालय निर्माणका लागि ७ खर्ब १५ अर्ब २३ करोड खर्च भइसकेको खानेपानी मन्त्रालयले जनाएको छ ।

यो लगानी सरकारको नभई जनता आफैले आफनो घरमा शौचालय निर्माणका क्रममा खर्च गरेको राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिका सचिव खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख इन्जिनीयर देवेन्द्र कुमार झाले बताए ।

अन्तरक्रियामा खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले सरसफाइको अवस्था र चुनौतीका बिषयमा प्रस्तुत गरेका थिए । यस्तै नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेलले सरसफाइ र आमसञ्चार र काठमाडौ मेडिकल कलेजका प्राध्यापक डा. सुनिल कुमार जोशीले सरसफाइ र स्वास्थ्यका बिषयमा प्रस्तुत गरेका थिए ।

सहभागीका सुझाव

कार्यक्रमका सहभागीहरुले काठमाडौलाई खुला दिसामुक्त घोषणा गर्न काठमाडौ महानगरपालिकाले चर्पी बनाउन बाँकी घरलाई चर्पी बनाउन लगाउनुपर्ने, सार्वजनिक स्थानमा शौचालय बनाउने कामलाई तीब्रता दिनुपर्ने, मिडियाले सरसफाइको बिषयलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताएका थिए ।
अहिले सञ्चारमाध्यमका समाचार खोजमुलक र अध्ययनमुलक नभई घटनामूलक र कसले के भन्यो भन्ने कोड गर्ने मात्र हुन थालेको गुथीका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यले गुनासो पोखेका थिए ।

कार्यक्रममा सरसफाई पनि सञ्चारमाध्यमको प्रमुख समाचार बन्न थालेको नागरीक दैनिकका प्रधान सम्पादक लुइँटेलले बताए ।

नतासंग प्रत्यक्ष सरोकार राख्ने मिहिन बिषयलाई पनि सरल र मन छुने तरिकामा प्रस्तुत गर्न सकेमा राजनितिका मात्र नभई खानेपानी र सरसफाईले पनि बिशेष र प्रमुख स्थान सञ्चारमाध्यममा पाउने गरेको प्रष्ट पारे । सरसफाई अभियान सबैको हातेमालोमा सम्पन्न हुने भएकाले यसमा सबै सरोकारवाला एक हुन सरसफाई बिज्ञ नमस्तेलाल श्रेष्ठले आह्वान गरे ।

खुल्ला दिसा मुक्त घोषणा हुन सबैभन्दा चुनौति रहेको जिल्ला काठमाडौले आउने असार मसान्तसम्ममा घोषणा गर्ने महानगरका वातावरणिय विभाग प्रमुख हरी कुमार श्रेष्ठले प्रतिबद्धता जाहेर गरे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र वास मिडिया फोरमले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता महासंघ अध्यक्ष राजेन्द्र अर्यालले गरेका थिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्