राष्ट्रिय किर्तिमान राखेका याम भन्छन्ः मान्छे–मान्छेबीच विभेद किन ?



म याम सज्जन सुनार । जाजरकोटको जगतीपुर गाविस वडा नम्बर ९ कुदुमा २०४९ साल पुस १७ गते जन्मिएँ । बुबा हर्के सुनार र आमा भदी सुनारका पाँच सन्तान मध्ये म साइलो । म भन्दा अगाडि एक दाई र एक दिदी र दुई बहिनी छन् ।

म जन्मिदा घरको आर्थिक अवस्था राम्रै थियो रे । बुबा आमाले खेती किसानी गर्नुहुन्थ्यो । त्यसका अलावा बुबाले सुन बनाउने काम पनि गर्नुहुन्थ्यो । खेती किसानी गर्दा धान गहुँ किन्न नपर्ने भएपछि बुबाले सुनका गरगहना बनाएको कामले सानोतिनो खर्च टरिहाल्थ्यो । त्यसैले पनि मेरो बाल्यकाल दुःखद रहेन । म राम्रै वातावरणमा हुर्किएँ ।

म चार कक्षामा पढ्दै गर्दा मेरो दाहिने खुट्टा भाँच्चियो । तीन चोटी अपरेशन नै गर्नुपर्यो । जिल्लामा मात्रै होइन, नेपालमा उपचार सम्भव नभएपछि भारतको लखनउमा लगियो । अरुको रगत चढाइयो । घरमा भएको पैसा जति सबै उपचारमा गयो । यतिसम्मकी त्यो वर्ष घरमा भएको सबै पैसा मेरो उपचारमा खर्च भएपछि दशैंमा मासु खाने पैसा जुटाउन पनि बुबालाई मुस्कील भो ।

एकातिर बिरामीका कारण सबै पैसा सकियो । बुबालाई काम गर्ने समय भएन । आयस्रोतको अरु माध्यम थिएन । दाई सानै । दिदी र बहिनीहरूले गर्ने आयमूालक केही काम थिएन । आमालाई घरधन्दा र खेतीपातीको काममै ठिक्क । फेरि गाउँघरमा उहाँहरूले कमाउने खालको केही काम पाए पो ! दाई र बुबाले धेरै दुःख गर्नु भो । ऋण निकाल्नु भो । मलाई बचाउन आफन्त नातागोतासँग हार गुहार गर्नुभो । तर आफन्तबाट समेत कुनै सहयोग नभएपछि मेरो परिवारले निकै गरीवी भोग्नुपर्यो । कहिल्यै नदेखेको अभाव देख्नुपर्यो हामीले । तर भाग्य नै भन्नुपर्छ मेरो उपचार सफल भो । म बाँचे । मेरो परिवार त्यसैमा खुसी भो । बिस्तारै परिवारको आयस्रोत उस्किदै गयो ।
म पढाइमा अब्बल थिएँ । पढाईमा राम्रै भएकाले वर्षभरी पढ्न नपाएको भए पनि विद्यालयले सहयोग गर्यो । परीक्षामा फेल भइएन । सरहरूबाट निकै सहयोग भो । म चार कक्षा पास भएँ ।

मेरो दाई विवेक सुनार मभन्दा चार वर्ष जेठो । दाईको पढाई पनि एकदम राम्रो थियो । पाँच कक्षामा त जिल्लामै प्रथम हुनुभो । तर मेरो उपचारमा चुर्लुम्म डुबेको घरको आर्थिक अवस्थाका कारण बुबालाई सहयोग गर्न उहाँले पढाइलाई निरन्तरता दिनु भएन । उहाँ पनि सुन बनाउने काम गर्न थाल्नुभो । त्यसले परिवारको आर्थिक अवस्था उकास्यो । हामी भाई बहिनीहरूलाई कुनै अभाव भएन । दाईको हामीप्रतिको भूमिका बुबाको भन्दा कम भएन । उहाँले आफ्नो पढाइलाई तिलाञ्जली दिएर हाम्रा लागि धेरै गर्नुभो । बुबाले जन्माउनु भो, दाईले कर्म दिनु भो हामीलाई । त्यसकारण मेरो दाई मेरो लागि ठूलो भगवान लाग्छ मलाई ।

घरनजिक विद्यालय थिएन । आठ कक्षा पास भएपछि ९ कक्षा पढ्न कि त छिमेकी जिल्ला रुकुमको चौरझारी जानुपर्ने, कि त सदरमुकाम खलंगा । मेरो घर आफ्नो जिल्लाको सदरमुकाम भन्दा रुकुम नजिक पर्छ । बीचमा भेरी नदी । नदी तरेर विद्यालय जानुपर्ने । मैले रुकुमको चौरझारीस्थित सितल उच्च माविबाट ९ कक्षा पास गरे । १० कक्षा भने नेपालगञ्जमा पढ्ने अवसर पाएँ ।

बुबाले जन्माउनु भो, दाईले कर्म दिनु भो हामीलाई । त्यसकारण मेरो दाई मेरो लागि ठूलो भगवान लाग्छ मलाई ।

म सानैदेखि खेलकुदमा असाध्यै रुची राख्ने । जिल्लामा लमजम्प, दौड, भलिवल जस्ता खेलमात्रै हुन्थे । यही खेल नै मन पर्छ भन्ने थिएन । जिल्ला र विद्यालयस्तरमा हुने प्राय सबै खेल खेल्थेें । सात कक्षामा पढ्दा लमजप्ङ र त्रीपल जम्पमा त जिल्लामा प्रथम नै भएँ । त्यसले ममा उत्साह जगायो । खेल के हो भन्ने कुरा थाहा नपाएको उमेरमा जिल्लामै प्रथम भएपछि खेलको महत्व बारे केही जान्ने मौका पनि मिल्यो । यो खेल राष्ट्रिय हो भन्ने पनि बुझे । त्यो बेलामा राष्ट्रिय खेलाडी भनेको त ठूलै मान्छे लाग्थ्यो । म खुसी भएँ ।

जीवनको नयाँ अध्याय

९ कक्षा पास भइसकेको भए पनि जुन विद्यालयबाट ९ कक्षा पढेको हो त्यही विद्यालयबाट १० कक्षा अर्थात एसएलसी दिनुपर्दथ्यो त्यो बेला । मलाई ९ कक्षादेखि नेपालगञ्जको दीपज्योती विद्याश्रमले निशुल्क पढाइदिने भो । मैले हुन्छ भने । त्यहाँ फेरि ९ कक्षामा भर्ना भएँ । त्यो विद्यालयमा भर्ना भएपछि मेरो जीवनको नयाँ अध्याय शुरु भो । जहाँ पढाई शुल्कदेखि सम्पूर्ण शैक्षिक सामग्री पनि निशुल्क पाएँ मैले । त्यही स्कुलबाट एसएलसी दिएँ । ०६५ सालमा प्रथम श्रेणीमा एसएलसी पास भएँ ।

एसएलसी दिएलगत्तै काठमाडौंमा पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भयो । त्यो प्रतियोगितामा सहभागी हुने मौका मिल्यो । लमजम्पमा स्वर्णपदक र त्रीपलजम्पमा काश्यपदक पाएँ । त्यसैको दुई महिनापछि सन् २००९ मा युथ एसियन खेल खेल्न सिंगापुर जाने अवसर मिल्यो । त्यहीदेखि मेरो जीवनमा खेल जीवन सुरु भो ।

जीवनमा यही बन्छु भन्ने खास उद्देश्य केही थिएन । जे पेसा व्यवसाय गरे पनि राम्रै गर्नुपर्छ, आफूले गरेको काममा अब्बल बन्नुपर्छ । अरुले नगरेको काम गर्नुपर्छ । पैंसा नै ठूलो कुरा होइन भन्ने चाहिँ लाग्थ्यो । तर खेलमै लाग्छु भन्ने चाहिँ सोचेको थिएन । खेलप्रतिको निरन्तरता र इमान्दारिताले मलाई खेलाडी बनाएरै छाड्यो । म खुसी छु आफ्नो कामप्रति ।

हालसम्म राष्ट्रिय खेलमामात्रै दुई सय स्वर्णपदक पाएको छु । १० देशमा १० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसके । २०७० सालमा सय–दुई सय मिटर दौडमा १० दशमलब ३ सेकेण्डमा राष्ट्रिय किर्तिमान राखेको छु । तर अन्तर्राष्ट्रिय खेलमा भने अहिलेसम्म पदक पाउन सकेको छैन ।

विदेशीहरू तालिमदेखि लिएर खानपान सबै कुरामा परिपक्व छन् । हाम्लाई त्यो अवसर छैन । भोको पेटमा खेल्नुपर्ने बाध्यता छ । सरकारीस्तरबाट खेलाडीहरूमा आभारभूत भन्दा बढी लगानी छैन । त्यसले गर्दा हाम्ले विदेशीहरूसँग प्रतिस्पर्धामा सफलता पाउन नसकेको हो । तर पनि टक्कर राम्रै दिएको छु ।

राज्यले खेलाडीहरूलाई तालिमका अवसर दिनुपर्छ । धेरै महंगा देश पढाउन पर्दैन । छिमेकी मुलुक भारतमै भए पनि तालिमको अवसर मिलाउनु पर्छ । नेचुरल ट्यालेन्ट नेपाली खेलडीहरूको क्षमताको पहिचान गर्नुपर्छ राज्यले । आक्कल झुक्कलबाहेक नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिस्तरमा पदक पाउन नसकेको अवस्थामा खेल र खेलाडीको विकासका लागि नेपाल सरकार संवेदनशील हुनुपर्छ र हाम्रो क्षमतालाई बुझ्नु पर्दछ ।

उच्च शिक्षा

मैले जेभियर्स इन्टरनेश्नल कलेज काठमाडौंबाट विज्ञानमा प्लस टु र त्रीचन्द्र कलेजबाट बीएससी पास गरेँ । खेलकुदमै बढी समय दिनुपरेको कारण मास्टर गर्न पाएको छैन । पढ्ने ठूलो धोको छ । पढाई पुरा गर्ने नै हो । अब चाहिँ खेल विज्ञानबाट मास्टर गर्ने सोच बनाएको छु ।

प्रेम र विवाह

सायद मैले मन पराएकाले मलाई मन पराएनन् । मलाई मन पराउनेलाई मैले मन पराइन । त्यही भएर होला मेरो जीवनमा कोही खास प्रेमिका भएनन् ।

टाइम पासका लागि गरिएको र आज गरेर भोली छुट्ने प्रेममा मलाई विश्वास छैन । सायद त्यस्तो मान्छे मैले फेला पार्न सकिन । म चाहान्छु, म जोसँग प्रेम गर्छु, उसैसँग विवाह होस् । प्रेमिका नै मेरो जीवनसाथी होस् । प्रेमिकालाई दिने समय पो मसँग नभएको हो कि ? मैले प्रेमिका पाउन सकेको छैन । जुन दिन म प्रेममा पर्छु, त्यो कुरा मिडिया मै भन्छु ।

अबको लक्ष्य

साउथ एसियन खेलकुद प्रतियोगिता १ देखि १० डिसेम्बर २०१९ मा नेपालमै हुँदैछ । त्यसमा सय–दुई सय मिटर दौडमा नेपालको तर्फबाट सहभागी हुँदैछु । नेपालमै बसेर गरिएको तालिमले यसमा सफलता पाउन सकिन्छ भन्ने लागेको छैन । त्यसका लागि टाढा नभए पनि भारतसम्म गएर तालिम दिने अवसर नेपाल सरकारले मिलाउन पर्छ । त्यसो भो भने विदेशी खेलाडीसँग राम्रै प्रतिष्पर्धा गर्न सक्छु भन्ने हिम्मत छ ।

२०२० मा जापानमा ओलम्पिक हुँदैछ । अन्तर्राष्ट्रिय खेल खेल्ने हरेक खेलाडीको रहर हुन्छ । मलाई पनि ओलम्पिक खेल्ने रहर छ । राज्यले तालिमको अवसर दिएको खण्डमा त्यहाँ पुग्न सक्षम हुनेछ ।

जातले दिएको पीडा

जहाँ पुगे पनि म कथित दलित भएकै कारण भोगेका केही नराम्रा घटनाहरू छन् । जुन समाज र परिवेशमा जन्मे, हुर्के त्यही कुराले होला मैले अरु कुनै जातको केटीलाई प्रेम प्रस्तावसम्म राख्नै सकिन ।

मलाई एउटा घटनाले बारम्बार पीडा दिइरहन्छ । म त्रीचन्द्रमा पढ्दै गर्दा मलाई बाहुन जातको केटीले एकदमै मन पराउँथ्यो । उसैले प्रेम प्रस्ताव राख्यो । मैले पनि हुन्छ भने । हाम्रो कुराकानी पनि हुन्थ्यो । उसलाई मेरो थर पनि थाहा रहेनछ । मैले पनि त्यो कुरा पछिमात्रै थाहा पाएँ ।

छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको थियो । म च्याम्पियन भएको समाचार फोटोसहित पत्रिकामा आयो । त्यो समाचारमा मेरो नाम र थर आएपछि म दलित हो भन्ने कुरा केटीले थाहा पाएछ र उ त बोल्नै छोड्यो । किन र केका लागि उ बोलेन र टाढा भयो जान्न समेत पाएको छैन । मलाई लाग्छ त्यसको कारण भनेको मेरो जात हो ।
जिल्लामा बस्दा आफ्नै साथीको घरभित्र जान नसकेको अवस्था । क्षेत्री र बाहुनको बाहुल्यता भएको मेरो गाउँमा उनीहरू भएको बेला धारा पँधेरामा जाने हिम्मत नजुटाएका क्षण धेरै छन् । तर अहिले त्यस्तै अवस्था छैन । हिजो भन्दा आज परिवर्तन त भएको छ । यद्यपि जातिय छुवाछुत पूर्ण रुपमा हटेको छैन । तपाई भन्नुपर्ने मान्छेले मेरो जात थाहा पाएपछि तिमी भन्छन् । त्यो कुराले बेलाबेलामा हिनताबोध चाहिँ जन्मिन्छ । र लाग्छ अहिले ढुंगे युग त हैन । तर पनि मान्छे–मान्छेभित्रै यति विभेद किन ?

(सैघाली खबरसँगको कुराकानीमा आधारित ।)
हेर्नुहोस् कुराकानी

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्