महिनावारी अपमान सहने माध्यम बन्नु हुन्नः मन्त्री थापा

–सैघाली खबर– काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रकृतिको सुन्दर उपहार महिनावारी अपमान सहने माध्यम बन्नु दुःखद् भएको बताएकी छन् ।

पाटनको मंगलबजारमा आज विश्व महिनावारी दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य रहेको बताइन् ।

‘महिनावारी हामी महिलाले अपमान सहने माध्यम बन्नु ठूलो रोग हो’ मन्त्री थापाले भनिन्, ‘यो त श्रृष्टिको शुरुआत हो । महिनावारी हुनु नै महिला आमा बन्ने कुराको प्रमाण हो । यसलाई पापसँग तुलना गर्नु मुर्खता हो ।’ मन्त्री थापाले विद्यालयका छात्राहरुका लागि शौचालयमा स्यानेटरी प्याड र परिवर्तन कक्ष राख्ने सरकारको कार्यक्रम रहेको बताइन् ।

महिनावारी बारेका भ्रम र अन्धविश्वास हटाउन पुरुष सहभागितामाथि जोड दिने संस्था एक्स पोज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्यालले महिनावारीलाई महिलाको प्रजनन् सक्षमताको रुपमा मात्र बुझिनुपर्ने बताईन् ।

उनले यसको नाममा हुने विभेदले महिलालाई आमरुपमा पछौटेपनको शिकार बनाएको बताइन् । भनिन्, ‘यो समाजको रोग हो, यसको समाधान महिलाले मात्र गर्न सक्दैनन् । समाजका सबै सचेत मान्छेहरुको हातेमालो जरुरी छ ।’

त्यसअघि काठमाडौंको बसन्तपुरबाट शुरु साईकल ¥याली काठमाडौं र ललितपुरका विभिन्न स्थान हुँदै पाटन मंगलबजारमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागि साईकल यात्रीले महिनावारी सम्बन्धी विभेद हटाउन पुरुष अग्रसरतामा जोड दिइएका प्लेकार्ड बोकेका थिए ।

सभास्थलमा महिनावारी विभेद विरुद्धका चित्रकला पनि प्रदर्शन गरिएको थियो । महिनावारीका बेला माहिलामाथि हुने विभेद विरुद्ध ७ वर्षदेखि अभियान चलाइरहेको एक्सपोज नेपालले महिनावारी स्वच्छताको लागि पुन प्रयोग गर्न सकिने स्यानेटरी प्याड बनाउने तालिमका साथै त्यस्तो प्याड वितरण समेत गर्दै आएको संस्थाका अध्यक्ष ज्ञान महर्जनले बताए ।