बम बनाउँदै गर्दा पड्किएको आशंका

–सैघाली खबर–

काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित घरभित्र भएको विष्फोट बम बनाउने क्रममा भएको हुनसक्ने स्थानीयको शंका छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको एक दिन अगाडि आज भएको उक्त विष्फोट बम बनाउँने क्रममा भएको हुनसक्ने घटनास्थलका प्रत्यक्षदर्शीले शंका गरेका हुन् ।

अनामनगर घट्टेकुलोको आप्का हाउसबाटभित्रपट्टी रहेको एक तले घरमा भएको उक्त विस्फोटमा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

मृतकको पहिचान खुल्न सकेको छैन भने शव घरभित्रै छ । घाइते विप्लवका विद्यार्थी नेता रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र जपथ प्रहरीको ठुलो टोली परिचालित भएका छन्। प्रहरीले पनि घट्टेकुलोमा बम बनाउँदा बनाउँदै विस्फोट भएको प्रारम्भिक अनुमान गरेको छ।