प्रदूषणमा कुहिएका चल्लाहरू 

जेठोदाइ आउँदा

कूचो लगायौ तिमीले

तर अहँ कूचो होइन

दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।

नाराउखान र हावाहुरीको

भुँवरी चलायौ तिमीले

पलाएका समृद्धिका पखेटाहरू पनि

सबैसबै भाँच्यौ

तर अहँ कहिल्यै रोपेनौ तिमीले

वातावरणका एउटै हरियो बिरुवा पनि ?

राजबाबु श्रेष्ठ ‘सागर’

केवल उडायो सपनाहरू शहीदका

अनि रोप्यौ भ्रमका विषालु ऐंशेलु कँडाहरू

र उमार्यौ तिमीले

तीखातीखा खिया लागेका काँटीहरू

जसले रोपिएर हजारौँ समृद्धिका

कलिला पाइतालाहरू आज रकाताम्मे भएर

टिटानसको विषालु विषले कुहिरहेछन्

दह सुकेर माछा कुहेझैँ ।

जबसम्म

बालुवाटार र सिङ्गो दरबारमा

भाले र पोथी मिलेर कोरल्छन्

प्रदूषणका कुहेका चल्लाहरू

जबसम्म देश भक्तका बादल मडारिएर

वर्षेर भिज्दैन देहावसान भएका बारीका डल्लाहरू

तबसम्म फेर्न सक्दैनन् सास आरामले फोक्सोबाट

ती डाँडाकाँडा, भीरपाखा, पर्वत र तराइका

अग्राख, धुपी र सल्लाहरू ।

फेरि म कसरी फेर्न सक्छु

स्वच्छ वातावरणको फोक्सोबाट

त्यो शुद्ध अक्सिजन ए मनुवाहरू ?

जबसम्म

बालुवाटर र सिङ्गो दरबारबाट बहिरहन्छ

कुहिएका सिनुका दुर्गन्धहरू

मेरै फोक्सोको कुलेसोभएर ।