मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम – वेरोजगार युवालाई स्वरोजगार बनाउँने अभियान



दाङ,। दाङका गाउँपालिकाहरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम धमाधम सुरु भइरहेको छ । मानव विकास सुचाङ्कमा कमजोर देखिएका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश नम्वर ५ को सहयोगमा जिल्लाका राजपुर, वंगलाचुली र बबई गाउँपालिकामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाहरु बताउँछन् । कार्यक्रमबाट आफूहरु लाभान्वित भएको राजपुर गाउँपालिका वडानम्वर–४ का अवधेश भण्डारीले जानकारी दिनुभयो । मोटरसाइकल मर्मत तालिममा सहभागी भएर आत्मनिर्भर बन्ने अभियानमा रहेको भन्दै भण्डारीले आफूजस्तै राजपुरका १४ जना युवाहरु उक्त कार्यक्रमबाट लाभान्वित भएको बताउनुभयो ।


मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत राजपुर गाउँपालिकाका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि चुरापोते बनाउने तालिम सञ्चालनमा आएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीका अनुसार गाउँपालिकाभित्र बाख्रापालन गरिरहेका कृषकहरुका लागि भेटनरी तालिमका साथै बालविवाह न्यूनीकरण अभियान सञ्चालन भइरहेका छन् ।
चालु आर्थिक वर्षबाट प्रदेशका ३५ गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत राजपुर गाउँपालिकामा जस्तै वंगलाचुली गाउँपालिकामा पनि कार्यक्रम धमाधम सञ्चालन भइरहेका छन् । कार्यक्रमका दाङ सहजकर्ता श्रीधरकुमार राजभण्डारीले वंगलाचुमा मोटरसाइकल मर्मत र होजियारी तालिम चलिरहेको जानकारी दिनुभयो ।

उता बबई गाउँपालिकाले पनि कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले युवाहरुका लागि कपाल काट्ने तालिम, मोटरसाइकल मर्मत तालिम र महिलाहरुका लागि गार्मेण्ट तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । स्वरोजगार बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याएको भन्दै सहजकर्ता राजभण्डारीले पहिलो चरणमा बबई गाउँपालिकामा ४५ जना, वंगलाचुलीमा २५ जना र राजपुरमा ११४ जनालाई स्वरोजगार तालिम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले राजपुरमा ५ सय बालबालिकालाई बालविवाह न्यूनीकरण र १४४ जना दम्पत्तीलाई लैंगीक हिंसा बिरुद्धको सचेतना प्रदान गरेको जानकारी दिनुभयो । प्रत्येक गाउँपालिकामा ४५ लाख ९० हजारका दरले वजेट विनियोजन गरिएको भन्दै सहजकर्ता राजभण्डारीले अन्य कार्यक्रम पनि सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्