प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणका क्रममा आज फ्रान्सको सामोनी मोँ ब्लाँमा आयोजित समारोहलाई सम्बोधन गर्दै यसै वर्षको अन्त्यसम्म नेपालले विश्व मञ्चका रुपमा सगरमाथा संवाद आयोजना गर्ने जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले उक्त संवाद पर्यावरणका विषयमा केन्द्रित हुने र यो पहिलो चरणको विश्व मञ्च हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार कार्यक्रममा सो शहरका पूर्वप्रमुख मोरिस हर्जोले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै उपहार प्रदान गर्नुभएको थियो ।

हर्जोले धवलागिरि हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको थियो । सोही अवसरमा फ्रान्सका लागि नेपाली सद्भावना दूत शृङ्खला खतिवडाले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सामोनी मोँ ब्लाका मेयरले आयोजना गर्नुभएको थियो ।