साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएनन्



 

काठमाडौँ । चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् ।

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रणयन्त्र ९छपाइ मेशिन० को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।

विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । उहाँका अनुसार एउटा उपकरणको क्षमता दैनिक दुई हजार ५०० देखि तीन हजार वटासम्म छपाइ गर्ने रहेको छ । एक दिनमा बढीमा १८ हजारसम्म छपाइ गर्ने विभागले जनाएको छ । उहाँले भन्नुभयो, “यही गतिमा छपाइ गर्दा यहाँ छाप्न बाँकी रहेको लाखौँ चालक अनुमतिपत्र छाप्न सकिँदैन ।”

उपकरणमा समयसमयमा समस्या आउने गरेको विभागले जनाएको छ । प्रवक्ता खनालका अनुसार उपकरणमा समस्या आउँदा मर्मतका लागि भारतबाट नै प्राविधिक आउनुपर्ने बाध्यता रहेको छ । जर्मनी कम्पनीका उपकरणमा समस्या आउनासाथ मर्मत नहुँदा पनि नियमितरुपमा सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि दुई वटा उपकरण मर्मत हुन नसक्दा थन्किएर बसेका छन् ।” सरकारले सेवाग्राहीलाई समयमा नै चालक अनुमतिपत्र उपलब्ध गराउन ‘मास प्रिन्टर’ खरीदको प्रक्रिया अघि बढाएको छ ।

खरीदका लागि ठेक्का सम्झौता भइसकेको प्रवक्ता खनालले बताउनुभयो । मास प्रिन्टरको एक घण्टामा ४३० चालक अनुमतिपत्र छाप्ने क्षमता रहेको रहेको छ । उहाँले भन्नुभयो, “मास प्रिन्टर खरीद गरेपछि समस्या हल हुनेछ ।”

स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान भएका छन् । भक्तपुरका अनन्त नेपाल स्मार्ट चालक अनुमतिपत्र बने नबनेको बुझ्न तीन पटकसम्म कार्यालय पुग्दा पनि नबनेको भन्दै फर्कनु परिरहेको उहाँले बताउनुभयो । उहाँले भक्तपुरको जगातीबाट चालक अनुमतिपत्रका लागि परीक्षा पास गर्नुभएको थियो ।

तीन पटकसम्म पनि त्यहाँ कार्यरत कर्मचारीले विभागबाट बनेर नआएको भनेपछि उहाँ एक पटक बुझ्नका लागि विभाग पुग्नुभयो । विभागले चालक अनुमतिपत्र बनेपछि कार्यालयमा नै जान्छ भन्ने र कार्यालयमा तीन पटकसम्म नआएपछि अहिले कतै पनि जान छाडेको उहाँले बताउनुभयो ।

सडकमा छड्के जाँच हुँदा उहाँले कार्यालयमा राजश्व तिरेको कागज देखाएर हिँड्ने गर्नुभएको छ । उहाँले भन्नुभयो, “रसिदको नम्बर नबुझिने भएर अहिले लेमिनेशन गरेर बोकेको छु ।”

नि आवश्यकताभन्दा कम छपाइ हुँदा सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएका हुन् । विभागले चाँडो गर्ने भन्दै केही महीना निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिएको थियो ।

निजीले चालक अनुमतिपत्र छाप्दा रङ्गिन छापेको प्रवक्ता खनालले बताउनुभयो । रङ्गिन छाप्दा कसैको फोटो त कसैको नाम, ठेगाना, रक्त समूहलगायतका विवरण प्रष्ट थिएन । निजीमा झन बढी समस्या आएपछि अहिले विभाग आफैँले श्यामस्वेत कार्ड छापिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले विभाग आफैँले छापेको कार्डमा प्रष्ट नभएको भन्ने गुनासो छैन ।”

गत फागुनसम्ममा विभागले देशभरका कार्यालयमार्फत पाँच लाख ५७ हजार २९८ स्मार्ट चालक अनुमतिपत्र वितरण गरेको थियो । आव २०७४÷७५ मा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण भएको थियो ।

नयाँ संविधानअनुसार यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो । सङ्घीय सरकारले गत मङ्सिरमा यातायात व्यवस्था कार्यालय भैतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । प्रदेश सरकार आफैँले कार्ड छाप्न शुरु नगर्दा सङ्घीय सरकारले नै यो काम गरिरहेको हो । रासस

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्