बझाङ दुर्घटनाः मृतकको सामूहिक दाह संस्कार



बझाङ । सोमवार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेहरुको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनामा मृत्यु भएका कोटदेवल गाउँका ९ जनाको सदरमुकाम नजिकको सेती नदी किनार धौलाबगरमा सामूहिक अन्त्येष्टि गरिएको हो ।

जिन्नाडा घर भएका जिप चालक सुरेन्द्र थापाको जिन्नाडीगाड र सेतीको दोभानमा अन्तेष्टी गरिएको छ । बझाङ जिल्लामा भएको यो अहिलेसम्मकै ठूलो सडक दुर्घटना हो ।

मृतकहरुलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि कोटलदेवलका स्थानीय तथा जिल्लाका विभिन्न ठाउँबाट हजारौको संख्यामा आएका मानिसहरु शवयात्रामा सहभागी भएका थिए । विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारी समेतको बाक्लो उपस्थितिमा जिल्ला अस्पताल सिमखेतबाट धौलाबगर आर्यघाटसम्म शवयात्रा गरिएको थियो ।

एउटै दुर्घटनामा आमा जुनधारा खड्का, बुबा कलकबहादुर खड्का र भाई सरोजलाई गुमाएका कोटदेवलका सन्देश खड्काले चितामा दागवत्ती दिएका थिए । सन्देशका भाई सरोज र विपनाको लास खाल्डोमा गाडिएको थियो । हिन्दु संस्कार अनुसार ब्रतबन्ध नगरेका मानिसको लाश नजलाउने भएकाले सरोज र विपनाको लास गाडिएको हो । धौलीदेवी खड्का र छोरा हिक्मत खड्कालाई धौलीका श्रीमानले भारतबाट आएर दागवत्ती दिएका थिए । भने मृतक जुना खड्कालाई पनि उनका छोराले दागवत्ती दिएका थिए । मृतक भक्त द्वाल र लक्षमी द्वालको पनि आफन्तले दागवत्ती दिएका थिए । मृतक मध्य सात जना कोटदेवलका गाउँका हुनु भने भक्त र लक्ष्मी रनाडा गाउँका हुन् ।

दुई जना बालबालिकासहित नौ जनाको सामूहिक मृतकका आफन्त र परिवारका सदस्यहरु रुँदारुँदै बेहोस भएशव यात्रामा सहभागी भएका सबै भाव विह्वल भएका थिए । का थिए । गाउँ नै शोकमा डुवेको छ । कतिपय अहिले पनि होसमा आउन नसकेको र उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेको बताइएको छ ।

जिल्लामै भएको हालसम्मको ठूलो दुर्घटनाले गाउँपालिका शोकमा डुवेको छ । मष्टा गाउँपालिकाले बुधबार सार्वजनिक विदा दिएको थियो । मंगलबार बसेको गाउँ कार्यपालिकाको आकास्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै सरकारी, गैरसरकारी कार्यालय र विद्यालयहरुमा विदा दिने निर्णय गरेको थियो ।

बैठकले मृत्यु भएका परिवारलाई क्रिया खर्चवाफत नगद पा“च हजार दिने र घाइतेको उपचारका लागि प्रतिव्यक्ती ५० हजार आर्थिक सहयोग दिने निर्णय समेत गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले बताए । दुर्घटनामा अभिभावक गुमाएर विचल्लीमा परेका बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको बारेमा पनि गाउँपालिकामा छलफल भैरहेको अध्यक्ष कठायतको भनाई छ ।

मृतकको क्षतिपूर्ति र घाईतेको उपचारको विषयमा मंगलवार दिनभर भएको छलफलमा साँझ अबेर मात्र सहमति भएका कारण सोमवार मृत्यु भएकाहरुको बुधबार अन्त्येष्टि गरिएको हो । जिल्ला प्रशाशन कार्यालय र जिल्ला समन्वय समितिको रोहवरमा भएको छलफलमा जिप मालिकले प्रति मृतक नगद तीन लाख क्षतिपूर्ति दिने र घाईतेहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने सहमति भएको मष्टा गाउँपालिका १, का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्