“हिन्दु” धर्मको अन्त्य नभई छुवाछुत हट्दैन



नेपालमा पौने ३ करोडको हाराहारीमा रहेको जनसंख्याको २० प्रतिशत अर्थात् ६० लाख भन्दा बढिको जनसंख्यामा “दलित”हरु रहेका छन् । सरकारी तथ्याङ्कले १३ प्रतिशत मात्रै दलितको जनसंख्या प्रकाशित गरेको छ यो सहि तथ्याङ्क होइन, राज्यको सुनियोजित प्रपोगाण्ड मात्रै हो । जे भएता पनि नेपालका झण्डै एक चौथाई जनता आज जातीय विभेदको सिकार बनेका छन् र यो समस्यालाई राज्यले सहि ढंगबाट संबोधन नगरुन्जेल अन्य जतिसुकै विकास निर्माणका कार्यहरु गरेता पनि ति सबै ओझेलमा पर्नेछन् । यसकारण पनि हामीले “दलित” भन्ने विषयमा गम्भिरताका साथ अध्ययन गर्न, छलफल चलाउन, सोचविचार गर्न र पुराना गलत सोंचको सट्टामा परिवर्तन गर्दै अगाडि बढ्न नितान्त जरुरी छ ।

मानव समाजको विकासक्रममा फरक–फरक भूगोलमा बसोबास गर्नेक्रममा जाति, भाषा र राष्ट्रको उत्पत्ति भएको हो । जात (अबकतभ) हुनका निम्ति खास भाषा, भूगोल, आर्थिक प्रणाली, संस्कृति र खास मनोविज्ञान भएको समूह हुनुपर्छ । वर्ग (अबिकक) भनेको श्रेणी वा मापदण्ड हो । उनीहरुको अवस्था, क्षमता, सीप आदिलाई क्लास वा वर्ग भनिन्छ । समुदाय (क्यअष्भतथ) भनेको विभिन्न जातका तर एउटै वर्गभित्र पर्ने, राजनीतिक, आर्थिक, सामाजिक, बैचारिक आदि क्षेत्रमा समानता भएको समूह हो । यसरी हेर्दा अहिलेका “दलित” इसापूर्व ३ सय भन्दा अघि सर्वहारा मेहेनतकश जनता थिए, जसले पौरख गरेर संसारमा जिउ“थे । त्यो समयमा महान् कालिगढ, सिर्जनाकार, कलाकार, वैज्ञानिक, आविस्कारक आदि थिए । जुन यस्तो वर्ग थियो कि समाजको सबैभन्दा अग्रस्थानमा रहेको थियो तर एक्षिण एशियाली उपमहाद्धीपको आजको भारतमा करिब ३५ सय वर्ष पहिले वर्णव्यवस्थाको जग हालिएको थियो भन्ने मानिन्छ ।

त्यसपछि २ हजार वर्ष पहिले ब्राह्मण राजा मनुको शासनकालमा वर्ण व्यवस्थामाथि छूवाछूत समेत लादियो । त्यहि हिन्दू वर्णव्यवस्थाले ऐतिहासिक सर्वहारा वर्गलाई जातिका रुपमा स्थापित गरेको हो । त्यसबेलादेखि समाजको सबैभन्दा तल परेका श्रमजीवि जनता बिच फुट पार्न र शोषक वर्गिय कथित उच्च जातीय शासनलाई दीर्घजीवि बनाउन छूवाछूतसहितको वर्ण व्यवस्थालाई व्यवस्थित रुपमा कठोर पार्दै लगियो त्यस क्रममा हिन्दु धार्मिक शासन एशियामा जहा“–जहाँ फैलियो, त्यहाँ–त्यहाँ यो छूवाछूतसहितको वर्ण व्यवस्था फैलन पुग्यो ।

भारतबाट हिन्दु धार्मिक शासकहरु र पुरोहित पण्डितहरु दोस्रो शताब्दीतिर (लिच्छवी कालमा) आजको नेपाल खण्डमा प्रवेश गर्नेक्रमसँगै जातपात, छूवाछूत र भेदभाव प्रथाको शुरुवात भएको पाइन्छ । आजभन्दा करिब ७ सय वर्ष अगाडिदेखि अर्थात काठमाण्डौं उपत्यकाका राजा जयस्थिति मल्ल (इ.सं. १३६०–१३६५) र गोरखाका राजा राम शाहले इ.सं. १६०५–१६३६ मा सामाजिक व्यवस्थाका रुपमा यो प्रथालाई नेपालमा लागु गरी त्यहि भारतीय वर्ण व्यवस्था आइपुगेको कुरा इतिहास सिद्ध भइसकेको छ ।

नेपालमा काठमाण्डौं उपत्यका पछि नेपाल र पछि मधेशमा छूवाछूतसहितको वर्णव्यवस्थालाई व्यवस्थित पार्ने सिलसिलामा शासक जातीहरुले दलित जातिलाई हेपेर अपमानित गर्दै शुद्र “अछूत” पानी अचल “ठि मज्यू पि” “कूजात” “पउनी” आदि विभिन्न नामहरु दिए । आजसम्म पनि ति अपमानजनक शब्दावली देशका विभिन्न भागमा कथित उच्च जातिहरुले प्रयोग गरिरहेको भेटिन्छ ।

राष्ट्र निर्माताको पगरी गुथेका (गोर्खे साम्राज्यका नायक) साम्राज्यवादी पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाण्डौं उपत्यका कब्जा गरेपछि ‘असिल हिन्दुस्तान’ बनाउने योजना सहित काम गरेका थिए । उनी पूर्णरुपमा मनुको शिक्षाबाट प्रेरित थिए । मनुले आफ्नो उपदेशमा साना जाति (अहिलेका दलित)हरुले ज्ञान–गुणका कुराहरु, शिक्षा, हिन्दु धर्मका ग्रन्थ पढ्नहरुको जिब्रो काटिदिनु, आँखामा झिर तताएर घोचिदिनु, सुन्नेको कान झिर तताएर घोचिदिनुलगायतका अत्यन्तै क्रुर वाणी (निर्देशन)हरु थिए । त्यसैबाट प्रभावित शाह वंशहरुले पनि आफ्नो शासनकालमा मनुकै अनुशरण गरी नेपालमा शासन सञ्चालन गरे ।

इ.सं.१८५३ (वि.सं. १९१०) मा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले मुलुकी ऐन नै बनाएर छूवाछूत तथा विभेदलाई कानुनी मान्यता दिएका थिए । नेपालमा सामन्ती राणा शासनविरोधी प्रजातान्त्रिक आन्दोलनको हाराहारीदेखि नै दलित मुक्ति आन्दोलन पनि संगठित रुपमा सुरु भयो । २००३ सालदेखि २०२३ सालसम्म दलित संगठनहरुको नाममा कहिले “परिगणित” कहिले “अछूत”कहिले अति “पिछडा”, कहिले “हरिजन” जस्ता शब्दहरु दलित जातिलाई चिनाउन प्रयो गरिएका थिए । बल्लतल्ल वि.सं. २०२० सालको पञ्चायती सरकारले छूवाछूत तथा जातीय विभेदलाई कानुन बर्जित गरायो । मानव–मानव बीच भेदभाव तथा छूवाछूत गर्न नहुने कानुनी संरचना तयार भयो यद्यपी कार्यान्वयमा हालसम्म पनि कठिनाई परेको छ । जुनबेला सम्म “दलित” शब्दको प्रयोग भएको थिएन । २०२३ सालसम्म “दलित” शब्दको प्रयोग संगठनको नाममा प्रयोग भइसकेको थिएन ।

करिब ३५ सय वर्ष पहिले आर्यभाषी समुदाय इरान र अफगानिस्तान हुँदै भारतवर्ष प्रवेश गरेका थिए । उनीहरुले करिब ३३ सय वर्ष पहिले भारतवर्षका मूलवासीमाथि आक्रमण गर्दै उनीहरुलाई दास बनाए । हिन्दु धर्मको मूलग्रन्थ मनुस्मृतिमा वर्ण उत्पतिको विषयमा एक विशाल मानवको शरीरलाई “ब्राद्मणे वैश्यमुखमासीतवाहू राजन्य कृतः, उक्र तदस्थ यद्धेश्यःपदमयां शूद्रोजायत” भनिएको छ । अर्थात ईश्वरको मुखबाट ब्राह्मण, हातबाट क्षत्रिय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्रको जन्मिएको भनिएको छ । यी कथित विचारलाई संस्थागत गर्न ब्राह्मणहरुले विभिन्न ऋचा, वेद तथा स्मृतिको रचना गरे । यी रचनामा वर्णव्यवस्थालाई कायम गर्न विभिन्न नियम बनाइए र समाजलाई विभिन्न जातजातिमा विभाजन गरे । सुरुमा वर्णभेद रंगभेदको रुपमा रहे पनि पछि जातिभेदको रुपमा विकास गरियो, त्यसलाई जन्मसँग जोड्ने काम गरियो । वर्णव्यवस्था लागू गर्ने सन्दर्भमा सजातीय विवाह, रक्त सम्बन्ध नै एक ठाउँमा बसोवास गर्न सक्ने व्यवस्थालाई कडाइपूर्वक लागू गरियो । छुवाछूतलाई जातव्यवस्था कायम गर्न एक सजायको रुपमा विकास गरियो । मानव समूहबीच शुद्ध÷अशुद्धको विचार र मनोविज्ञानलाई विभिन्न कोणबाट विकास गरियो । वर्ण वा जातको आधारमा श्रमको विभाजनको सन्दर्भमा ईश्वरले शुद्रलाई तन, मन र धनले ब्राह्मण, क्षत्रिय र वैश्यलाई केवल सेवा गर्ने आदेश दिएको छ । ब्रह्माले शुद्रलाई ब्राह्मणको दासको लागि मात्र जन्म दिएको छ । शुद्रको जीवनलाई मनुस्मृतिमा विरालो, काग, कुकुर, गधा तथा उल्लुलाई मार्नमा जति पाप लाग्छ त्यति नै एक शुद्रलाई मार्नमा लाग्छ भनिएको छ । शुद्रलाई एक स्वतन्त्र मानवको रुपमा पनि स्वीकारेको छैन । मनुको आदेश थियो, शुद्रले सवर्णलाई जुन अंग प्रयोग गरेर मारेको हो, राजाले उसको त्यही अङ्ग काट्ने आदेश दिनुपर्छ ।

हिन्दु धर्मका मूलग्रन्थहरु अध्ययन गर्दा ब्राह्मणहरुले आफूलाई श्रेष्ठ राख्न मनुस्मृतिमा छुट्टै व्यवस्था गरेका छन् । ब्राह्मण भनेको मंगलमय, क्षत्रिय भनेको शक्तिमय, वैश्य भनेको धनमय र शुद्र भनेको निन्दामय हो । शुद्रले घीउ, दूध, पान र श्रेष्ठ भोजन खानु हुँदैन र खायो भने यसबाट ब्राह्मणलाई दुःख हुन्छ । शुद्रहरु गाउँको सिमानाभित्र बस्नु हुँदैन । उनीहरुको बास भनेको गाउँभन्दा बाहिर, मसानघाट, पहाड तथा भीरपाखाआदि ठाउँमा बसोवास गर्नुपर्छ । यदि ईश्वरले शुद्रलाई दासताबाट मुक्तिको इच्छा गरे पनि उनीहरु दासताबाट मुक्त हुन सक्दैनन् किनभने दासता उनीहरुको स्वभाविक कर्म नै हो । उनीहरुलाई जुठो अन्न, पुरानो कपडा, पुरानो वर्तन भाडामात्रै दिनुपर्छ । उनीहरुको आफ्नो भने केही हुनु हुँदैन भनि शास्त्रगत रुपमा नै बाहुनहरुले बाहुन धर्म (हिन्दु) मा शुद्र (दलित) हरुलाई विभेद गरिएको छ । शिक्षा र ज्ञान आर्जनबारे पनि मनुस्मृतिमा एक विशेष व्यवस्था गरिएको छ । शुद्रलाई ज्ञान दिनु हँुदैन । यज्ञ वा हवनबाट बचेको उच्छिष्ट तथा भाग पनि शुद्रलाई दिनु हँुदैन । उनीहरुलाई धर्मको उपदेश पनि दिनु हुँदैन । यदि शुद्रले भुलवस वेदको सुनेमा उसको कानमा तातो शिसा पगालेर हाली दिनुपर्छ । वेद उच्चारण गरेमा उसको जिब्रो काटी दिनुपर्छ र स्मरण गरेको खण्डमा हत्या गर्नुपर्छ । यी विभिन्न व्यवस्थाबाट शुद्रलाई आफ्नै सभ्यताको ज्ञान र शिक्षाबाट बञ्चित गरियो ।
ब्राह्मणले आफ्नो रक्षाका लागि मनुस्मृतिमा गरेका व्यवस्थाअनुसार ब्राह्मणले जस्तोसुकै अपराध गरे पनि उसलाई मृत्युदण्ड दिनु हँुदैन । ब्राह्मणको हत्याभन्दा संसारमा अरु कुनै पाप हुन सक्दैन । त्यसैले राजाले उसलाई कहिलै मृत्युदण्डको आदेश दिनु हुँदैन । नराम्रो कार्य गरे पनि ऊ पुजनीय नै हुन्छ । ऊ भू–मण्डलको परम देवता हो । कुनै पाप गरेको खण्डमा उसलाई मार्नु हँुदैन, बरु देशनिकाला गरी दिनुपर्छ । हिन्दु धर्मका विभिन्न ग्रन्थमा ब्राह्मणले आफ्नो जीविकोपार्जनका लागि जसले आफ्नो संचित अन्नको भण्डारबाट ब्राह्मणलाई दान गर्दैन, उनीहरु कि त चोर हुनुपर्छ कि त पापी हुनुपर्छ । त्यस्तो कामलाई ब्राह्मण हत्या गरेको समान बुझनुपर्छ । संसारमा जे जति चिज छन् सबै ब्राह्मणकै हुन् । ब्रद्माको मुखबाट उत्पन्न र कुलिन हुनुको कारण उनीहरु नै सबै धनको अधिकारी हुनु हो । मनुस्मृतिअनुसार ब्राह्मण बिनासंकोच वा निडर भएर शुद्रको धन वा द्रव्य छिन्नुपर्छ किनभने शुद्रको आफ्नो केही पनि हुदैन । उसको धन उसको स्वामी ब्राह्मण नै हो । शुद्रले धन आर्जन गर्नेे क्षमता राखे पनि उसले धन संचय गर्नु हुँदैन । धन आर्जन गरेर उसले ब्राह्मणलाई सताउन सक्छ । हिन्दु धर्मका विभिन्न वेद, रचना, शास्त्रलाई एक स्वतन्त्र मानवको आँखाबाट गहिरिएर विश्लेषण गर्दा यी चालहरुको माध्यमबाट शुद्रलाई दास बनाउन कुनै कसर बाँकी राखिएको छैन भन्ने देखिन्छ । उचनीचमा आधारित जातहरुको समूह नै हिन्दु धर्मको देन हो । यो धर्म मानव सिद्धान्तमा आधारित नभएर शासनमा आधारित हो भन्ने कुरा हिन्दु धर्मका शास्त्रलाई अध्ययन गर्दा प्रस्ट देखिन्छ । हिन्दु समाजमा वर्णमा आधारित वर्ग निर्माण भएका छन् । मानव समुदायको बीचमा उचनीचको भावना प्रयाप्त देखिन्छ । यहाँ खानपान र सामाजिक सम्मिश्रणमाथि प्रतिबन्ध नै छ । कुनै समुदायलाई सामाजिक तथा धार्मिक रुपमा तिरस्कार गरिन्छ भने कसैलाई विशिष्ट अधिकार दिइन्छ । व्यवसाय छनौटको स्वाधीनतामा रोक लगाइएको छ । विवाह सम्बन्धमा स्वतन्त्रता छैन । आफ्नो वर्ण वा जातभन्दा बाहिर गरिएको विवाहलाई सामाजिक स्वीकृति छैन । जीवनको लागि धर्मको आवश्यकता छ र यसको बिना समाज संचालन गर्न कठिन छ । धर्मको मूल्यांकन सामाजिक मापदण्डमा आधारित भएर हुनुपर्छ । जुन धर्ममा आफ्नै अनुयायीको बीचमा चरम भेदभाव हुन्छ त्यो धर्म हुनैसक्दैन, बरु त्यो धार्मिक अपराध हुन्छ । जुन धर्मले आफ्नो करोडौं अनुयायीलाई कुकुर तथा अपराधीभन्दा पनि बढी तिरस्कार गर्छ, त्यो धर्म होइन अपराधखाना हो । हिन्दु धर्मका लागि एक सर्वमान्य धर्मग्रन्थ हुनुपर्छ । समाजमा पुरोहित पनि चाहिन्छ तर जन्मजात पुरोहितवादको अन्त्य हुनुपर्छ । सबैका लागि मुक्त परीक्षाको आधारमा पुरोहित छनौट हुनुपर्छ । यसका लागि सरकारी प्रमाणपत्र अनिवार्य हुनुपर्छ । राज्यले कानुन बनाएर पुरोहितको संख्यामा सीमाबन्दी गर्नुपर्छ र पुरोहितको नैतिकता, विश्वास र पुजाविधिमाथि सरकारी निगरानी हुनुपर्छ । जातव्यवस्थालाई खारेज गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन र राज्यपक्षबाट कानुन बनाई कठोरतापूर्वक लागु गर्नुपर्छ ।

हिन्दु समाजमा वर्णव्यवस्थाअनुसार “अछूत” बनाइएका अनगिन्ती जात (अबकतभ) हरुलाई साझा नामका रुपमा “दलित ” शब्दले संबोधन गर्ने व्यक्ति भारतका प्रसिद्ध दलित नेता डा. भीमराव अम्बेडकर थिए । सन् १९२७ पछि उनको नेतृत्वमा भारतमा चलेको दलित आन्दोलनको क्रममा नै “दलित” शब्दको प्रयोग व्यापक बनेको थियो । भारतीय दलित आन्दोलनमा “दलित” शब्दको प्रयोग हुने क्रममा “दलित” शब्द हिन्दु समाजमा विभिन्न जातीय समूहभित्रका “अछूत” बनाइएका जातहरुको साझा जातीय नामका रुपमा स्थापित हुन पुग्यो । नेपाली र हिन्दी शब्दकोषमा “दलित” शब्दको सामान्य अर्थ ‘हेपिएको, दलिएको, पिसिएको’ भन्ने भए पनि भारतीय र नेपाली दलित मुक्ति आन्दोलनले “दलित” शब्दको अर्थ अब त्यतिमा सीमित रहन दिएन, बरु यो शब्दले हिन्दू समाजमा “पानी अचल” बनाइएका जातहरुको साझा जातीय नामको अर्थसमेत ग्रहण गर्न पुगिसक्यो । भारतको दलित आन्दोलनबाट स्थापित यो “दलित” शब्दलाई नेपालमा भने २०२४ सालमा गठित “नेपाल राष्ट्रिय दलित जनविकास परिषद्” संगठनको नाममा पहिलोचोटि प्रयोग गरियो । त्यसपछिदेखि “दलित” शब्द नेपालमा पनि दलित आन्दोलन र राजनैतिक एवं सामाजिक क्षेत्रमा स्थापित हुन पुग्यो ।

“दलित”शब्दको प्रयोगको यस सिलसिलालाई हेर्दा के देखिन्छ भने, एक, “दलित” नाम कुनै शासक जातिले हेपेर दिएको नाम होइन बरु यो दलित आन्दोलनबाट विकसित भएको साझा परिचय हो, साझा जातीय नाम हो । दुई, वर्णव्यवस्थाअनुसार “पानी अचल” बनाइएका जातहरु एउटै जाति समूहभित्रका मात्रै छैनन् बरु खस–पहाडिया, मधेसी र नेवार गरी तीनवटा समुदायका छन् त्यसैले तीनवटै समुदायका “पानी अचल”बनाइएका जातहरुको साझा परिचय दिन सक्ने अर्थ “दलित” शब्दले बोकिसकेको छ । आजको समयमा साझा नाम बनेको “दलित” शब्दलाई प्रयोग नगर्ने हो भने यो आन्दोलनलाई कसरी संबोधन गर्ने ? के आन्दोलन वा कस्ता जातिको आन्दोलन भनेर संबोधन गर्ने ? त्यसका निम्ति पनि आफ्नै आन्दोलनबाट सिर्जित गर्व गर्न सकिने साझा नाम “दलित” नै हुन सक्ने प्रस्ट छ ।

नेपाली दलित मुक्ति आन्दोलनमा “हामीले आफूलाई दलित भन्नुहुँदैन !” “आफैले आफूलाई तल किन ठान्ने ?” जस्ता तर्कहरु पनि बेला –बेलामा कतिपयले उठाउने गरेका छन् । यस सन्दर्भमा बुझ्नु पर्ने पहिलो कुरा त के हो भने “दलित” अरुले हेपेर दिएको नाम होइन । दलितहरुको गौरवमय आन्दोलनबाट स्थापित शब्द हो । दोस्रो कुरा, “दलित” भन्नु भनेको आफू तल भएको स्वीकार्नु होइन, बरु आफूलाई अत्याचार गरिएको छ भन्नु हो । तेस्रो कुरा, दलितले आफुलाई दलित बताएर अत्याचार भको होइन, बरु अत्याचार गर्ने सामाजिक व्यवस्था भएकाले अत्याचार भएको हो । कतिपयले “हामीले आफूलाई दलित भनिरहेपछि त सधैँ यस्तै रहन्छ ।” भन्ने तर्क पनि गर्ने गर्छन्, वास्तवमा त्यो कुरा सत्य होइन । हाम्रै समाजका केही उदाहरणबाट पनि त्यो कुरा प्रस्ट हुन सक्छ । जस्तै– नेवार जातिभित्रको सायमि अथवा मानन्धरहरुलाई पहिले छूवाछूत गरिन्थ्यो तर राणा शासनको हुकुमले मानन्धरहरुको पानी चलाइदिएपछि उनीहरु “अछूत” रहेनन् । मानन्धरहरुले पहिले पनि आफूलाई मानन्धर भन्थे, अहिले पनि आफूलाई मानन्धर नै भन्छन् तर त्यसले उनीहरुलाई फरक पारेन । मूल कुरा राजनैतिक–सामाजिक व्यवस्था वा परिपाटी हो । यदि समाजमा छूवाछूतको अन्त्य हुन्छ भने र दलितहरुमाथिको सबै अत्याचार र शोषणको अन्त्य हुन्छ भने “दलित” परिचय एउटा सम्मानजनक वा सामान्य परिचय बन्ने निश्चित छ ।

जातीय छूवाछूत तथा भेदभावकोे कुप्रथा मानिसबाटै सुरुवात भएको हो र मानिसबाटै यसको अन्त्य सम्भव छ । यो इतिहासको अस्थायी परिघटना हो, यो स्थायी प्रकारको मानव परिचय बन्नै सक्दैन र बन्ने दिशामा लैजानु पनि हुँदैन ।
तत्काल हामी सबैले यो अमानवीय प्रथाको अन्त्य गर्न आवश्यक छ । अहिले खासगरी “दलित” भित्र नीति निर्माणको तहमा, कार्यान्वयनको स्थानमा, गैरदलित सरह आर्थिक हैसियतमा र सामाजिक रुपमा अन्य समुदाय रहर बाच्न पाउने मानव अधिकारकोसमेत हनन् भएको छ । त्यहि कारणले आज “दलित”हरु राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रमा पछाडि परेका छन् । अधिकांश भूमिहीन छन् । परम्परागत पेशामा अहिले पनि अल्झिरहेका छन्, बेरोजगारीको संख्या ठूलो मात्रामा छ । नीति निर्माणको तहमा पुगेका छैनन् र बनेका नीति नियमको कार्यान्वयन गर्ने ठाउँमा पनि छैनन् । छूवाछूत विभेद कायम छ, शिक्षामा पहुँचहीनता र सामाजिक अन्याय अथावत नै छ ।
दलितहरु आज यस्तो दर्दनाक अवस्थामा पुग्नु केवल आर्थिक प्रक्रियाका कारण भएको होइन भन्ने बुझाई सबैमा हुनु अत्यावश्यक छ । त्यहि दक्षिण एसियाको भारतीय भूमिमा जन्मिएर नेपाल भित्रिएको हिन्दु सामन्तवादी शासन प्रणालीले दलितलाई जमिनको मालिक बन्नै नदिने नीतिका कारणले हो त्यसैले कम्तिमा २० वर्ष कसैले जमिन फुत्क्याउन नपाउने गरी गरिखान पुग्ने जमिन राज्यले उपलब्ध गराउनु पर्छ । रोजगारको ग्यारेन्टी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा राज्यले दलितहरुलाई सुनिश्चित गर्नुपर्छ । अर्धदास बनाई राख्ने हलिया प्रथा, बालीघरे प्रथा, डोली प्रथाजस्ता कुप्रथाहरुको अन्त्य गरी ज्यालाप्रणाली कडाईका साथ लागु गर्नुपर्छ । परम्परागत पेशालाई आधुनिक उद्योग धन्दामा परिणत गराउनु पर्छ ।
यसकारण आजको दलित आन्दोलनका गलत बुझाई, असक्षम नेतृत्व, अध्ययन अनुसन्धान र प्रयोगको कमजोरी सामन्त कुलिन वर्गले लिदै आएको छ । ऐतिहासिक सर्वहारा वर्गलाई “कमजोर जाति”का रुपमा स्थापित गर्दै यो हालतसम्म ल्याउने हिन्दु धर्मीय राज्यसत्ताको अन्त्यसँगै समाजका अन्य मानवसरहको जीवन जिउन पाउने स्वतन्त्रताको संग्रामी आन्दोलनमा सहभागी बन्दै तमाम् विभेदको अन्त्यमा हामी आ–आफ्नो क्षेत्रबाट अग्रसर हुनु पर्दछ । यो समस्या केवल दलितहरुको मात्रै होइन । राष्ट्रको समस्या हो, त्यसैले सम्पूर्ण देशवासीहरु एकाकार भई दलितहरु माथि भएको अमानवीय एवं जघन्य अपराधका विरुद्धमा एकजुट होऔं ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्