छिमेकमै छ हाम्रा चेली बेचबिखन हुने अड्डा



सरु सुनार, काठमाडौं – छिमेकी मुलुक भारतको नयाँ दिल्ली नेपाली चेली बेचिने पहिलो अड्डा बनिरहेको छ । खासगरी नयाँ दिल्लीको जेबी रोड नेपाली महिला किनबेच हुने प्रमुख ठाउँका रूपमा बद्नाम छ । मानव बेचबिखन विरुद्ध लामो समयदेखि क्रियाशील केआई नेपालका दिल्ली प्रतिनिधि नवीन जोशी यौन व्यवसायका लागि कुख्यात जेबी रोडमा कोठी चलाउने पनि नेपाली महिला नै रहेको दाबी गर्छन् । “जेबी रोडको कोठी न.६४ र कोठी न.५६ संचालन गर्ने र यौन बेच्ने दुबै नेपाली महिला हुन् । जहाँ ५० जना जति नेपाली महिलाहरू यौन व्यवसाय गरिरहेका छन् ।

” यौन व्यवसाय उनीहरुको रहर हो की बाध्यता त ? जेबी रोडबाट थुप्रै नेपाली महिलाको उद्वार गरिसकेका जोशी भन्छन्, “सुरुमा यौन व्यवसायी बन्छु भनेर र को महिला जालान र ? तर जब उनीहरू कोठीमै आफू बेचिएको र उम्किन सफल नहुने ठम्याउछन् अनि आफूलाई समर्पण गर्न बाध्य हुन्छन् ।” उनका अनुसार आफ्नो परिवार , आफन्त र नजिकको मान्छेबाटै बेचिएका उनीहरूलाई लामो समयपछि आफ्नै दुनियाँ रमाइलो लाग्न थाल्छ । कतिपय नेपाली महिलाले त त्यही भित्रै बच्चा पाएर परिवार नै भएर बसेका पनि छन् । अनि ती बच्चाहरु ? नवीन जोशी भन्छन्, “त्यही जन्मेका बच्चाहरु आमासंगै बस्छन् ।

अलि ठूलो भएपछि त्यही भित्र एउटा कोठामा बाहिरबाट शिक्षक ल्याएर पढाउँछन् । उनीहरूलाई त्यो भन्दा बाहिर पनि संसार छ भन्ने त लाग्दैन ।” त्यस्तो दलदलमा फसेकालाई नेपाल फर्काउन निकै कठिन र काउन्सिलको जरुरी देख्छन् उनी । केआई नेपालका निर्देशक ईन्द्रराज भट्टराई छिमेकी मुलुकमै पशुसरह बेचिने गरेको नेपाली महिलाको अवस्था देखेर निकै दु:ख लाग्ने बताउँछन् । उनका अनुसार अहिले मानब बेचबिखनका आयामहरु पनि फेरिदै गएका छन् । नेपाली महिलाको किनबेच भारतको मुम्बई र दिल्लीका कोठीमा मात्र नभई अहिले संसारका विभिन्न मुलुकहरु सम्म फैलिन पुगेको छ ।

भारतको बाटो हुँदै अफ्रिका र युरोपियन देशमा समेत महिलाको बेचबिखन हुने गरेको छ । निर्देशक भट्टराईका अनुसार काठमाडौं वरिपरिका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर लगायतका जिल्लाबाट विशेष समुदायका महिला बढी बेचबिखनमा परेका छन् । पहिला देह ब्यापारको लागि मात्र बेचबिखन हुने गर्थ्यो । अहिले मानव अंगहरु मृगौला, कलेजो, छाला, बोसोको बेचबिखन तथा भाडामा बच्चा जन्माउने कोखको लागिसमेत मानव बेचबिखन हुने गरेको छ । मानव बेचबिखनका पीडित/प्रभावितहरू भन्ने बित्तिकै समाजले हेर्ने दृष्टिकोण, झन्झटिलो कानूनी प्रक्रिया, प्रभावित मैत्री ब्यबस्था नहुदा मुद्दा दर्ता हुन नसकेको भट्टराई बताउँछन्

। हेर्नुस् यस सम्बन्धमा केआई नेपालका निर्देशक इन्द्रराज भट्टराईसंग सैघाली खबरका लागि पत्रकार सरु सुनारको कुराकानी:

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्