टेकबहादुर चोखाल स्मृति कप फुटसल सुरु



धनगढी । पुर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप बुधबारदेखि धनगढीमा सुरु भएको छ । निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता धनगढीमा सुरु भएको हो । पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा भएको प्रतियोगिताको नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले उद्घाटन गरिन् ।

धनगढी उपमहानगरपालिका भित्रका वडाका टीमहरु सहभागी भएको फुटसल प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ टीमको सहभागीता रहेको छ । पहिलो दिन लिग चरणका ९ खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा वडा नम्बर ५ स्टार सिटीले वडा नम्बर १३ को सवुु रानाको टीमलाई ७—१ हरायो । दोस्रो खेलमा वडा नम्बर ६ नवोबुद्ध युवा क्लबले वडा नम्बर ४ लाई ६—५ ले किनारा लगाउँदा तेस्रो खेलमा वडा नम्बर ५ टुईन्स एकेडेमीलाई वडा नम्बर १२ मनकामना युवा क्लबले १२—१ को फराकिलो अन्तरले हरायो ।

चौथो खेलमा वडा नम्बर २ महालक्ष्मी विजुली भण्डारले वडा नम्बर १४ प्रे युवा क्लबलाई ७—० ले पन्छ्याउँदा पाँचौ खेलमा वडा नम्बर ८ धनगढी युवा क्लबले वडा नम्बर १ नैनादेवी युवा क्लबलाई १९—२ को फराकिलो अन्तरले पराजित गरेको छ । छैटौं खेलमा वडा नम्बर १ फारवेष्ट पशुपति युवा क्लबले वडा नम्बर १३ नवदुर्गा युवा क्लबलाई ७—३ ले किनारा लगाउँदा सातौं खेलमा वडा नम्बर ११ ले वडा नम्बर १६ लाई पेनाल्टीमा २—१ ले हरायो । निर्धारित समय दुबै टीमले ५—५ को बराबरी खेलेका थिए ।

आठौं खेलमा वडा नम्बर ५ फोर्स मोटर्सले वडा नम्बर ३ जेनुन क्लबलाई १३—२ ले हराउँदा अन्तिम तथा नवौं खेलमा वडा नम्बर ४ बी ले वडा नम्बर १३ लाई ८—१ ले पन्छायो ।

प्रतियोगिताको दोस्रो दिन क्वाटरफाईनलनका खेलहरु हुनेछन् ।

निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजकमा निसर्ग अस्पताल रहेको छ । सह-प्रायोजकमा गोर्खा ब्रुअरीको उत्पादन टुबोर्ग रहेको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्