दृष्टीविहीन परिवारलाई ८४ हजार सहयोग



कैलालीमा दृष्टिविहीन परिवारलाई ८४ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका दृष्टिविहीन टेकबहादुर सदाशंकरको परिवारलाई ८४ हजार पाँच सय २० रुपैँया सहयोग रकम हस्तान्तरण गरिएको हो । ४६ हजार सात सय २३ को बैँक चेक र ३७ हजार सात सय ९७ को खाद्य तथा दैनिक प्रयोगमा आउने सामग्री खरिद गरि हस्तान्तरण गरिएको छ ।

अण्डैयाका युवा करन साउँदले दृष्टिविहीन सदाशंकरलाई आर्थिक सहयोगका लागि एक महिनादेखि सामाजिक सञ्जाल फेसवुकमार्फत अभियान सञ्चालन गरेका थिए । उनी समाजवादी पार्टी निकट युवा संघका केन्द्रीय सदस्य हुन् ।

नगरपालिकाको वडा नम्बर ५ लालीगुराँस शिविरमा सदाशंकरको सात जनाको परिवार बस्दै आएको छ । टेकबहादुरले आँखा देख्दैनन् भने उनकी श्रीमती पनि अपांग छन् । उनीहरुका पाँच छोराछोरी छन् । सुकुम्बासी शिविरमा बस्दै आएका टेकबहादुरले वर्षौदेखि सार्वजनिक यातायातमा मादल बजाएर रकम संकलन गरी जिबिकोपार्जन गर्दै आएका छन् ।

सदाशंकरको परिवारलाई दैनिक गुजारा गर्न समस्या भएपछि अभियान सञ्चालन गरिएको अभियन्ता करण साउँदले बताए । सहयोग रकम ग्रहण गर्दै टेकबहादुरले पहिलो पटक सामूहिक रुपमा सहयोग पाएको बताए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्