पशुबलिकाे परम्परा; के छ विधि विधान ?

सनातन धर्ममा हिंसा र अहिंसाको अवधारणा र पशुबलिकाे परम्परा


सनातन वैदिक परम्परामा वेदको विधानअनुरूप विभिन्न यज्ञमा पशुको सञ्ज्ञपन (मारण) गरिएजस्तै वैदिकपरम्परामा वेदको सिद्धान्तको पुष्टि गर्न बनेका श्रीमद्देवीभागवत, मार्कण्डेय पुराण जस्ता महापुराणको विधान अनुरूप देवीका निम्ति मेध्य पशुको बलि दिने गरिएको हो। नेपालका विभिन्न समुदायमा पनि यसै परम्परा अनुरूप विभिन्न अवसरमा पशुबलि दिने प्राचीन परम्परा रहेको छ।

चारै वेद ब्राह्मण वटुकहरुले वर्षौंसम्म ब्रह्मचर्याश्रममा रहेर कण्ठ पारेर नलेखीकन नै अनादिकालदेखि जस्ताको तस्तै सुरक्षित गरिएका ग्रन्थ हुन् र तिनमा कुनै कुरा पनि थपघट भएका छैनन् भन्ने कुरा पनि स्पष्ट छ।

मार्कण्डेयमहापुराण अन्तर्गतको देवीमहात्म्यमा देवीले आफ्नो पूजामा उत्तम पशु, पुष्प, अर्घ्य, धूप, चन्दन, दीप जस्ता वस्तु चढाउने र ब्राह्मणभोजन, होम आदि गर्नुपर्ने कुरा बताउनु भएको छ।

सर्वं ममैतन्माहात्म्यं मम सन्निधिकारकम्।
पशुपुष्पार्घ्यधूपैश्च गन्धदीपैस्तथोत्तमैः॥
विप्राणां भोजनैर्होमैः प्रोक्षणीयैरहर्निशम्।
अन्यैश्च विविधैर्भोगैः प्रदानैर्वत्सरेण या ॥
प्रीतिर्मे क्रियते साऽस्मिन् सकृदुच्चरिते श्रुते।
श्रुतं हरति पापानि तथारोग्यं प्रयच्छति ॥ (दुर्गासप्तशती, अध्याय १२।२०-२२)

वेदमा नै यज्ञमा चढाइएका पशुको उत्तम गति प्राप्त हुने कुरा बताइएको छ। अरु स्मृतिपुराणहरुमा पनि तेस्ता पशुलाई उत्तम गति प्राप्त हुञ्छ भन्ने कुरा वर्णन गरिएको छ। लोककल्याणकारी रागद्वेषबाट मुक्त ऋषिमुनिले प्रज्ञाको प्रयोग गरी श्राद्ध, तर्पण, ‍देवपितृको लागि यज्ञ आदिका प्रक्रिया वा विधिविधानको उपदेश गरेका हुन् । मानिसको साधारण बुद्धिले श्राद्ध, यज्ञ जस्ता कर्मको नदेखिने अदृष्ट फल पाइने वास्तविकता बुझ्न नसक्ने भएकाले नै ऋषिमुनिको ठुलो महत्त्व भएको हो र तिनको ऋण हामिले तिर्नपर्ने मानिएको हो। वास्तवमा हाम्रो दैनिक जीवनमा हिंसा व्याप्त छ भनेर पनि शास्त्रहरुले विस्तृतरूपमा बुझाएका छन् । रुखबाट आफैं झरेका पातबाहेक जेसुकै काँचै वा पकाएर खाएमा वा पानी नै खाएमा पनि पनि हिंसाको दोष लाग्छ । गृहस्थका जीवनमा नित्य प्रयोग हुने वधस्थलहरु चुलो, पिन्ने जाँतो आदि , कुचो, ओखल, पानीको घैटो हुन् भनेर स्मृतिहरुले बताएका छन्।

पञ्च सूना गृहस्थस्य चुल्ली पेषण्युपस्कर:।
कण्डनी चोदकुम्भश्च वध्यते यास्तु वाहयन्॥ (मनुस्मृति, ३।६८)

चामलको वा अरु कुनै अन्नको प्रत्येक गेडामा पुन: उम्रनसक्ने एउटा जीव छ, सागपात सबै जीव नै हुन्। तिनको चेतनाको स्तर मात्रै फरक हो। चेतनाको स्तर पशुपशुमा पनि समान छैैन । अत: आफ्नो अधिकार अनुसार नित्य पञ्चमहायज्ञ गरेर यो हिंसाको पापबाट र ऋषिऋण, देवऋण, पितृऋणबाट पनि मुक्त हुनुपर्छ भनेर हाम्रा शास्त्रले बताएका छन्। अतः पञ्चमहायज्ञ नगरी कुनै पनि अन्न खाानाले पनि पाप लाग्छ। नित्य सदाचारको पालन नगर्नाले पनि पापको भाागी हुनुपर्छ। महाभारतमा आएको धर्मव्याध (धार्मिक व्याधा वा सिकारी) को कथाले र वराहपुराणको धर्मव्याधको कथाले पनि यो कुरो स्पष्ट पार्दै देवपितृलाइ नचढाई अन्न खाँदा पनि प्रत्येक अन्नको गेडामा रहेका जीवको हिंसाको पाप लाग्ने र चढाएर मांसभक्षण गर्नेलाइ पाप पनि नलाग्ने पुण्य प्राप्त हुने कुरा साधारण मानिसले बुझ्ने गरी बताएको छ । वि.सं. ५२० ज्येष्ठशुक्लप्रतिपदा (शक संवत् ३८६)को मितिमा लिच्छविकालमा स्थापित शिलालेखमा पनि “ईजे सत्पशुभिः सुराननुगुणैः सम्पन्नमन्त्रर्द्धिभिः। यज्ञैः कर्म्मविशुद्धदेहहृदयश्चन्द्रद्युतिः पार्त्थिवः ॥ ” भनेर धेरेैै उत्तम पशुहरुको यज्ञमा प्रयोग गरिएको कुरा उल्लेख पाइञ्छ।

यो कुरा बुझ्न नपाएका र शास्त्रको ज्ञान नभएका अनि आफ्ना पिता-पुर्खा ऋषि-मुनिबाट आएको अनादि शास्त्रमा श्रद्धा नभएका ऋषिमुनिको ज्ञानको महत्व बुझ्न पनि नपाएका वा नास्तिक भै प्रायोजित किसिमले हाम्रो सामाजिक धार्मिक परम्परालाई निकृष्ट घोषित गर्नेहरुबाट सावधान भै विधिपूर्वक शास्त्रीय आचारपूर्वक धर्मकर्म गर्नाले नै यस लोकमा र परलोकमा पनि कल्याण हुञ्छ भन्ने कुरा बुझ्ने र बुझाउने गर्नु आवश्यक छ।

बाजे-बराजुका पालादेखि विभिन्न सम्प्रदाय मान्दै आएका मानिसहरुले आआफ्ना सम्प्रदाय अनुसारका साधना गर्नु छुट्टै कुरा हाे। तर मूल सनातन वैदिक परम्पराका शाास्त्रविहित र परम्पराप्राप्त कुराको र कुनै अर्को सम्प्रदायका विधिविधान र परम्पराकाे आलाेचना गर्नु अत्यन्त अधार्मिक र निन्दनीय कार्य हाे।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्