बडा दशैंको नवौं दिन आज महानवमी पर्व दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै



बडा दशैंको नवौं दिन आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।

महानवमीका दिन दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस चढाउने गर्दछन् । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको पूजा गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।

यता, काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर आज खुलेको छ । यो मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने गर्दछ । मन्दिरमा पूजाआजा गर्न विहानैदेखि भक्तजनको घुँईचो लागेको छ । महानवमीको दिन मन्दिरमा तलेजु भवानी आउने जनविश्वास रहेकाले बिहानैदेखि तलेजु मन्दिर खुल्ला गरिएको हो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्