दशैं: एक विमर्श




बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना छ सुमधुर !
आज हाम्रो नेपाली समाजको बडा दशैको पनि विशेष तिथि विजया दशमी ! विगतमा हाम्रो समाजमा असत्यमाथी सत्यको र अन्यायमाथी न्यायको विजय भएको भनिएको र मानिएको दिन ! र, अहिले हामीले असमानतामाथी समानताको, पराधीनतामाथी स्वतन्त्रता र स्वाधीनताको अनि अवहेलनामाथी स्वाभिमान र सम्मानको पनि विजय होस् भनी कामना गर्दै ठूलो हर्ष र उल्लासका साथ आआफ्ना अग्रज, मान्यजन र सम्मानित नाता र नेताहरुबाट टीकाजमरा र आशीर्वाद थाप्ने, मीठोमसीनो खाने अनि नयाँ, सुन्दर र सफा लुगा लगाउने गरेर दुख बिर्साउने वा बिसाउने गरी मनाइने ठूलो नेपाली सांस्कृतिक र सामाजिक बन्दै गएको हिन्दू धार्मिक पर्व । वि. सं. २०७६ सालका आसन्न नेपाली चाडपर्वहरु क्रमशः दशैं, तिहार, छठ, नयाँ नेपाल संवत् , लोसार, ईद, मकर संक्रान्ति आदि सम्पूर्ण चाडबाडहरुको सुखद उपलक्ष्यमा यहाँहरु सबैलाई हार्दिक शुभकामना ! यहाँहरुका मनहरुमा सत्यम्-शिवम्-सुन्दरम् ले भरिपूर्ण भएका अत्युत्तम र असल विचार र भावनाहरु जागृत होऊन् र ती कार्यान्वयन गर्नको लागि आवश्यक यहाँहरुका तनहरु पनि सधैभरी सारैनै स्वस्थ, सबल, सक्षम, सकृय, संघर्षरत र समर्पित होऊन् भन्ने समेत चाहना राख्दछु ! साथै, हाम्रो आफ्नो र परिवारको मात्र होइन; छिमेकको, गाउँ-समाज र समुदायको अनि समग्र राष्ट्र र सारा संसारको सर्वोत्तम हित सर्वाधिक बढी र सर्वोच्च रुपमा होस् भन्ने भित्री दिलदेखिनै प्रार्थना गर्दछु ।

आज संसारमा एकातिर जो दुख, अशान्ती, अन्याय , असमानता, गरिबी र पिछडापन भएको छ, त्यसको मूल कारण अगुवा र शक्तिशाली नेता-शासकहरुका भ्रष्ट, दुष्ट र पापिष्ट मन, वचन र कर्महरुका कारणले हो । अथवा भनौं सामान्यतया ती नेता-शासकका स्वार्थी र संकुचित अनि अबैज्ञानिक र अन्यायपूर्ण नीति, निर्णय, निर्देशन र नियतको सिर्जन र कार्यान्वयनले गर्दा नै आज हाम्रो यो दुर्गती भएको हो । तथापी तिनका गलत नीति र नियतजन्य विचार र आचार आदिलाई चिन्न, बिन्न, हान्न र छिन्न वा रोक्न र ठोक्न नसक्नु हाम्रो र जनताको समेत कमजोरी भएकोले वर्तमान समाजमा अहिले हाम्रो यो बेहाल भएको हो । यसैगरी अर्कातिर, जेजती प्रगती र समृद्धी हासिल भएको छ, त्यसमा पनि समाजका अगुवा र सक्षम नायकहरु र त्यहाँका सचेत जनताको भूमिका र योगदान रहेको छ । तसर्थ, नेपालका र अन्यत्रका सबै चाडपर्वहरुले सर्वप्रथम जुनसुकै चाडपर्वहरु पनि मनाउने सन्दर्भमा हुने विकृती, विसङ्गती, विलास र विनासपूर्ण विधि, विधान, व्यवस्था र व्यवहारहरुबाट बचाउँदै नेतादेखी जनतासम्म हामी सबैलाई आआफ्ना गलत र खराब चिन्तन-प्रवृत्ती र कमीकमजोरीजन्य काम-व्यवहारहरुलाई सच्चाएर, स्वच्छ, शुद्धिकृत, सुसंस्कारित भै बाँच्न, बढ्न र विकासगर्नको लागि बल, बुद्धि र विवेकको वरदान देऊन् भन्ने अपेक्षा, आशा र आराधना गरौं र एक वृहत् नागरिक संयुक्त मोर्चा बनाई नायकहरुबाट सत्ता र शक्तिको सदुपयोगमा साथ, समर्थन र सहयोग गर्ने तर पद, पैसा, पावर, पहुँच र प्रख्यातिको दुरुपयोगद्वारा भैरहेका र हुने दम्भी, दमनपूर्ण, दानवी, दासजन्य र दरिद्रतम अनैतिक , अस्वच्छ, अपारदर्शी, अवान्छित र अपृय खलनायकीय गतिविधिका विरुद्ध सशक्त संघर्षद्वारा निर्णायक खबर्दारीसम्म पनि गरेर स्वदेस र संसारमा समेत समतापूर्ण, सहिष्णु, सद्भावयुक्त, सहकार्यात्मक, सुन्दर, सभ्य र सार्थक समाजसहितको संपूर्ण संसार सिर्जना र संचालन गरौँ भन्ने आत्मीय आह्वान गर्दछु ! अन्तमा, मेरी ममतामयी माताले सधै शुभकामना र शुभाशिष दिंदा भन्ने गरेको ” मनले चिताएको पुगोस्” भन्ने आशिर्वादलाई हृदयङ्गम गर्दै अहिले यसलाई सामयिक बनाउन र अद्यावधिक गर्नको लागि थोरै थपेर परिष्कृत गरी यस्तो भनौं कि भन्ने चाहन्छु: “हाम्रा मनहरुले राम्रा-राम्रा कुरा चिताऊन् र ती चिताएका सबै कुरा छिटोछिटो पूरा होऊन् !”

(शर्मा सामाजिक र सांस्कृतिक परिवर्तनको आन्दोलनमा लामो समयदेखि सक्रिय छन् ।)

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्