सी को भ्रमणमा चार तहको सुरक्षा व्यवस्था



चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण तालिका तय भएसँगै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । दुई दशकपछि हुनलागेको २ दिने भ्रमणका क्रममा नेपाली सेनालाई सुरक्षाको प्रथम घेरामा राखिनेछ ।
त्यसैगरी सिको सुरक्षाको लागि दोश्रो घेरामा नेपाल प्रहरी, तेश्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा यही २५ गते नेपाल आउने राष्ट्रपति सी को भ्रमणलाई नेपालको अन्तराष्ट्रिय सम्बन्धको क्षेत्रमा ज्यादै महत्वको साथ लिइएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सीको भ्रमणको मिति सार्वजनिक गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले सी र चिनियाँ टोलीको सम्मानमा रात्रीभोज आयोजना गर्ने छिन्।

सी र प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भेटवार्ताका क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछन्। परराष्ट्रले ती सम्झौता र समझदारीबारे भने खुलाएको छैन।

नेपालमा रहँदा सीले विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ। राष्ट्रपति सी असोज २६ गते स्वदेश फर्कनेछन्।

चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि एक महिनाअघि विदेश मन्त्री वाङ यी काठमाडौं आएका थिए।

सी काठमाडौं आउनु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सी बीच भारतको चेन्नई नजिकैको ठाउँमा दुई दिने अनौपचारिक समिट हुँदैछ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्