स्थानिय तहको नयाँ अभियान, प्लाष्टिक माला प्रतिवन्ध



गुल्मी, कार्तिक ६ – जिल्लाको एक स्थानीय तहले हिन्दु नेपालीहरुको दशैं पछिको प्रमुख चाड तिहारको अवसरमा एक नयाँ अभियान सुरु गरेको छ । धुर्कोट गाउँपालिकाले यसवर्षको तिहारमा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै नयाँ अभियान सुरु गरेको हो ।

तिहारको अवसरमा प्लाष्टिकका मालाको बढ्दो आयात र गाउँघरमा उत्पादन हुने फुलका माला बिस्थापित हुन लागेको यो समयमा धुर्कोट गाउँपालिकाले एउटा उदाहरणिय अभियान अगाडी बढाएको गाउँपालिकाको प्रतिकृया रहेको छ । गाउँमा उत्पादन भएका फुलका मालाको प्रयोग र गाउँका किसानहरुलाई उत्साहित पार्ने तरिकाले सोहि गाउँपालिकाका स्थानीय बजारमा गाउँमै उत्पादन गरिएका माला उपलब्ध हुन थालेका छन ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार गाउँमै उत्पादन गरिएका फुलका माला प्रयोग गर्नु आर्थिक तथा विभिन्न कारणले अति नै फाईदाजनक छ । गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै बजारमा प्लाष्टिकका माला नभित्राउन र गाउँकै माला प्रयोग गर्न अनुरोध गरेको छ ।

गाउँमा फूलको मालालाई प्रवद्र्धन गर्ने उद्देश्यले बजारका रेडिमेट प्लाष्टिकका मालालाई प्रयोगमा रोक लगाईएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए । पछिल्लो समय सयपत्री, थुंगे लगाएतका गाउँमै पाइने मालाको प्रयोगमा कमी हुँदै गएको बताउँदै गाउँपालिका अध्यक्ष पोखरेलले यसवर्षदेखि बजारको मालामा प्रतिबन्ध लागाईएको जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष शिव बहादुर केसीले आफुहरुले स्थानीय तहमा नयाँ खालको अभियान सञ्चाल गरेको जानकारी दिए । यस्तो अभियान जिल्लामा एउटाले मात्रै होईन सबैले अभियान नै बनाएर अगाडी बढ्नुपर्छ उपाध्यक्ष केसीले भने–“जिल्लाका अन्य स्थानीय तहले पनि यस अभियानलाई साथमा लिएर हिड्नुपर्छ ।”

दाजुभाइलाई टिका लगाइदिन गाउँपालिकादेखि बाहिर रहेका दिदिवहिनीलाई समेत फूलका मालाको प्रयोग गर्न उनले आग्रह समेत गरेका छन । गाउँपालिका क्षेत्रमा रहेका पसलहरुमा बजारको माला प्रयोग भए नभएको बारे अनुगमन गर्ने र भेटिएमा जफत गर्ने उनले जानकारी दिए ।

गाउँपालिका भित्रका कतिपय स्थानियलाई बजारको माला प्रयोग गर्न प्रतिबन्ध लगाएसँगै तिहारमा मालाको अभाव हुने चिन्ता देखिएको छ । तर गाउँपालिकाले यसअघि नै गत साउन महिनामै स्थानीय आमा समूह र महिला समूहलाइ पुष्पखेती गर्न लगाएको थियो । त्यसैले पनि गाउँमा मालाको अभाव नहुने बताईएको छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्