भाडा विवाद हुँदा महिलालाई सडकमै कुट्ने सवारी चालकविरुद्ध मुद्दा दर्ता



काठमाडौं । चर्को भाडा लिएको बिरोध गर्दा सडकमै महिला कुट्ने सवारी चालकविरुद्ध कंचनपुर प्रहरीले आज मुद्दा दर्ता गरेको छ ।

गएको शुक्रवार धनगढीबाट कंचनपुरको महेन्द्रनगर जाने क्रममा भाडा बिवाद हुँदा महिलालाई सडकमै कुटपिट र गाली बेइज्जती गर्ने से १ ज १०९४ नम्बर गाडी (किया गाडी)का चालक गोकुल बोहराविरुद्ध कञ्चनपुर प्रहरीले आज मुद्दा दर्ता गरेको हो । चालक बोहराले धनगढीकी लक्ष्मी धनाडीलाई सडकमै लछार पछार र कुटपिट गरेका थिए ।

महिलालाई सार्वजनिक स्थलमै कुटपिट गर्ने बोहराविरुद्ध ‘सार्वजनिक हित शान्ति सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’मा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सँगै यात्रा गरिरहेका बैतडीका दिपेन्द्र चन्दले उक्त कुटपिटको भिडियो खिचेर सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । उनै दिपेन्द्र र कुटपिट गरिएकी धनाडीको संयुक्त उजुरी अनुसार चालक बोहराविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

उक्त मुद्दा अनुसार पीडकलाई एक वर्षसम्म जेल सजाय र २० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी ब्यवस्था छ ।

उक्त घटनाको भिडियो फुटेज सार्वजनिक गर्ने दिपेन्द्र प्रहरीभित्रको बेथितीविरुद्ध बोल्दा अवकास पाएका पूर्व प्रहरी जवान हुन् ।

उनी स्वयं कानुनका विद्यार्थी भएका कारण घटनालगत्तै शुक्रबार नै चालक विरुद्ध मुद्दा दिए पनि दर्ता भने आज आइतबार मात्रै भएको हो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्